बर्दिबास । महोत्तरीसहितका मिथिला क्षेत्रमा आज छठपर्वको रौनक छ । आज छठको तेस्रो अर्थात् मुख्य दिन ब्रतालु निराहार रहन्छन् ।
Advertisement
पञ्चमीका दिन बुधबार मध्यरातअघि खरना विधि गरेर सक्खरको खिर प्रसादस्वरूप खाएपछि ब्रतालुको निराहार ब्रत प्रारम्भ हुन्छ ।
आज साँझ नै ब्रतालुले पवित्र जलाशयमा सजाइएको घाटमा विविध परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदा सूर्यलाई पहिलो अर्घ्य दिने छन् । यो विधिलाई मिथिलाको बोलीचालीमा “सझुका अरख” वा “सझियाघाट” भनिन्छ ।
श्रद्धा, निष्ठा र समर्पणको प्रतीक मानिने छठपर्वको अवसरमा मिथिलाका गाउँनगर बस्ती अहिले दुलही झैँ सिँगारिएका छन् । खासगरी जलाशयमा बनाइएका घाट मनमोहक छन् ।
ब्रतालुले भोलि शुक्रबार सप्तमी तिथिका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिएपछि छठ विधिवत् रूपमा समापन हुने छ ।