काठमाडौं । नेकपा (एमाले) का पूर्वउपाध्यक्ष भीम रावललाई स्पष्टीकरण सोध्ने पार्टी निर्णयविरुद्ध कार्यकर्ताले प्रदर्शन गरेका छन् ।
सोमबार रावलको गृहजिल्ला अछाममा एमाले कार्यकर्ताहरू पार्टी निर्णयविरुद्ध खबरदारीमा उत्रिएका हुन् । त्यसक्रममा रावल निकट कार्यकर्ताहरूले अध्यक्ष केपी शर्मा ओली विरुद्ध नाराबाजी गरेका थिए ।
सोमबार एमालेको साँफेबगर नगर कमिटीले कार्यकर्ता भेला कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी र जिल्ला इन्चार्ज झपट बोहरा पनि सहभागी हुने कार्यक्रम थियो । तर, रावल निकट कार्यकर्ताले विरोध गर्ने सुइँको पाएपछि उनीहरू कार्यक्रममै उपस्थित भएनन् ।
साँफेबगरमा विरोध प्रदर्शन गर्दै रावल निकट कार्यकर्ताले स्पष्टीकरण सोध्ने निर्णय फिर्ता लिन माग गरे ।
एमाले सचिवालयको आइतबार ललितपुरको च्यासलस्थित मुख्यालयमा बसेको बैठकले नेता रावलसँगै स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
एमालेले विवादित व्यवसायी मिनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन जग्गा दान लिएपछि त्यसको आलोचना गर्ने नेताहरूलाई एमालेले स्पष्टिकरण सोधेको हो ।