मनिला । करिब २५ वर्षअघि मलेसियामा विदेशी र फिलिपिनो नागरिकको अपहरण गरेको अभियोगमा इस्लामिक स्टेटसम्बद्ध लडाकु समूहका १७ सदस्यलाई आजीवन कारावासको सजाय सुनाइएको फिलिपिन्सको न्याय विभागले सोमबार जनाएको छ।
सन् २००० अप्रिलमा इस्लामिक अतिवादी समूह अबुसयैफका सदस्यले मलेसियाको सिपादान टापुमा रहेको एक होलिडे रिसोर्टबाट २१ जनालाई देखाएर अपहरण गरेका थिए ।
मनिलाबाट करिब ९५५ किलोमिटर दक्षिणमा पर्ने जोलोको जङ्गलमा बन्धक बनाइएका ती बन्धकले लाखौँ डलर फिरौती नदिँदासम्म महिनौँसम्म कैद भोगेका थिए । यसरी बन्धक बनाइएकामा फिलिपिन्स, फिनल्यान्ड, फ्रान्स, जर्मनी, लेबनान, मलेसिया र दक्षिण अफ्रिकाका नागरिक रहेका थिए ।
न्याय विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ– “यो सजाय विधिको शासन कायम राख्न न्याय विभागको अटुट प्रयासको प्रतिबिम्ब हो ।”
गत अक्टोबर १६ मा अपहरण र फिरौतीसहित गम्भीर गैरकानुनी थुनामा राखेको अभियोगमा १७ जना अभियुक्त दोषी ठहरिएका थिए ।
एएफपीले प्राप्त गरेको १५७ पृष्ठ लामो निर्णयमा सबैलाई प्रत्येक अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको उल्लेख छ ।
दोषी ठहरिएका दुई जना हिलारीयन डेल रोसारियो सान्तोस तृतीय र रेडेन्डो केन डेलोसा संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को प्रतिबन्ध सूचीमा परेका छन् ।
सन् २००८ मा सान्तोस र डेलोसालाई अलकायदा र ओसामा बिन लादेनसँग सम्बन्ध र आइएससँग सम्बन्धित लडाकु समूह अबु सयैयफ, जेमाह इस्लामियाह र राजा सोलेमान मुभमेन्टको कारबाहीमा सहभागी भएको आरोप काउन्सिलले लगाएको थियो ।
सन् २०२० मा अपहरणको घटना भएदेखि नै अपहरणकारीलाई आतङ्कवादको अभियोग लगाउन नमिल्ने र देशमा यस्तो कानुन लागु हुनुभन्दा पहिलेको घटनाका अपहरणकारीलाई आतङ्कवादको अभियोग लगाउन नमिल्ने बताइएको छ ।
अभियुक्तलाई २१ जना पीडितलाई नागरिक क्षतिपूर्ति, नैतिक र अनुकरणीय क्षतिको लागि करिब पाँच हजार २२८ अमेरिकी डलर तिर्न आदेश दिइएको थियो । (रासस/एएफपी)