काठमाडौं । सरकारले जलन प्रभावितको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
स्वास्थ्यले यअसघि नै अर्थ मन्त्रालयबाट यसबारे स्वीकृति लिइसकेको छ। मन्त्रालयले विद्यमान स्रोतबाटै व्यवस्थापन गर्ने गरी जलनको उपचार निःशुल्क बनाउने गृहकार्य गरेको थियो।
मन्त्रालयका अनुसार अब कोसी प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान तथा मधेस प्रदेशमा वीरगन्जस्थित नारायणी अस्पतालमा जलनको उपचार थालिनेछ। गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र लुम्बिनीको नेपालगन्जस्थित भेरी अस्पतालमा जलनको निःशुल्क उपचार गरिनेछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहणलगत्तै जलनसम्बन्धी उपचार निःशुल्क र सहज बनाउने प्रतिबद्धता सार्वजनिक गरेका थिए।
टीआरसी पदाधिकारी सिफारिस समिति गठन
यस्तै, सरकारले संक्रमणकालीन सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका लागि सिफारिस समिति गठन गरेको छ।
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले सिफारिस समिति टुंग्याउने निर्णय गरेको थियो।
संक्रमणकालीन न्यायसम्बन्धी दुवै आयोगमा पदाधिकारी नियुक्त गर्न पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा सिफारिस समिति बनाउनुपर्ने कानुनी व्यवस्था छ।