काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेका छन् ।
२०८१ कात्तिक २ गते शुक्रबार साँझ प्रहरीले बनस्थलीस्थित पार्टी कार्यालयबाटै पक्राउ रविलाई गरेको हो ।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उनी विरुद्ध अनुसन्धान गर्न कास्की जिल्ला अदालतले नेपाल प्रहरीलाई अनुमति दिएको थियो । सभापति लामिछानेलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी टोली पार्टी केन्द्रीय कार्यालय पुगेको थियो ।
सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ । जीबी हाल फरार छन्। उनी मलेसियामा रहेको थाहा पाए पनि प्रहरीले ल्याउन सकेको छैन। उनीविरुद्ध इन्टरपोलबाट रेड नोटिससमेत जारी भइसकेको छ।
अर्का गोर्खा मिडियाकै सञ्चालक छविलाल जोशी भने २७ दिनदेखि हिरासतमा छन् । उनलाई असोज ६ गते प्रहरीले काठमाडौँमा पक्राउ गरेर कास्की लगेको थियो । उनी विरुद्ध प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बनधी कसुरमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।