काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुंवरले ६९औं प्रहरी दिवस २०८१ का अवसरमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सहयोग पुर्याउने विभिन्न व्यक्तिलाई सम्मानपत्र, कदरपत्र तथा पुरस्कार प्रदान गरेका छन् ।
मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा महानिरीक्षक कुंवरले पुरस्कार तथा सम्मान प्रदान गरेका हुन् ।
त्यसक्रममा महानिरीक्षक कुंवरले सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले कारबाही गर्न सिफारिस गरेका प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापालाई उत्कृष्ट अनुसन्धानकर्तातर्फ पुरस्कृत गरे ।
कारबाही सिफारिसमा परेका थापा यस वर्षको उत्कृष्ट अनुसन्धानकर्ता बनेका हुन् ।
भन्सार विभागले बरामद गरेको ६१ किलो सुन प्रकरणको अनुसन्धान पछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको थियो। सीआईबीले सुन प्रकरणको अनुसन्धान एसपी थापाको कमाण्डमा गरेको थियो।
तर सुन प्रकरणको अनुसन्धानमा लापरबाही भएको भन्दै सरकारले पछि आयोग गठन गरेको थियो। पूर्व न्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गठित समितिले प्रहरीले अनुसन्धानमा लापरबाही गरेको भन्दै सीआईबीकै अधिकारीहरूलाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो।
आयोगको सिफारिस लगत्तै नुवाकोटको प्रहरी प्रमुख रहेका थापालाई हेडक्वाटर तानिएको थियो।
उक्त समितिमा सीआईबीकै प्रमुख समेत भइसकेका पूर्व एआईजी सहकुलबहादुर थापा पनि सदस्य थिए। उक्त समितिले कारबाही गर्न सिफारिस गरेका थापालाई पनि प्रहरी महानिरक्षिक कुंवरले उत्कृष्ठ अनुसन्धानकर्ताका रुपमा पुरस्कृत गरेका हुन्।
प्रहरी महानिरीक्षक कुँवरले उत्कृष्ट अनुसन्धानकर्ताको विभिन्न विधातर्फ प्रहरी उपरीक्षक संजय सिंह थापा, प्रहरी नायव उपरीक्षक इश्वर थापा, प्रहरी वरिष्ठ नायव निरीक्षक ऋषिकेश सुवेदी, प्रहरी नायव निरीक्षक जीवन कुमार कार्की र प्रहरी नायव निरीक्षक सुवाष यादवलाई प्रशंसापत्र प्रदान गरेका छन्।
अन्य विधातर्फ पनि उत्कृष्ठ प्रहरीहरुलाई दिवसकै अवसरमा प्रसंशा पत्र र नगदसहित सम्मान गरिएको छ। यता सुन जाँचबुझ आयोगको प्रतिवेदन कार्यन्वयन गर्ने भने पनि उक्त प्रतिवेदनमाथि सुरुमै प्रश्न उठेको थियो। उक्त विवादित प्रतिवेदन कार्यन्वयनमा सरकारले नै इन्कार गरेको छ।