दमौली । बडादशैँको दिन तनहुँ कारागारका ८३ जना कैदीबन्दीले आफन्तको हातबाट टीका लगाएका छन् । कारागारमा साॅझ ५ः३० बजेसम्म टीका लगाउने व्यवस्था मिलाइएको थियो ।
सो क्रममा ८३ जना कैदीबन्दीले टीका लगाएको तनहुँ कारागारका प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– ‘दुई सय ३७ जना आफन्तजनले कैदीबन्दीसँग भेट गर्दैं दशैँ मनाएका छन् । दशैँ मनाउन पाउँदा कैदीबन्दी खुसी भएका छन् ।’
विभिन्न अपराधमा सजाय भोग्न कारागारमा रहेका कैदीबन्दीले आफन्तसँग टीका लगाउन पाउँदा खुसी व्यक्त गरेको अधिकारीले उल्लेख गर्नुभयो ।
कारागारमा रहेका कैदीबन्दीले दशैँ मनाउनका लागि रकम सङ्कलन गरेका थिए । सोही रकमबाट उनीहरूले खसीको व्यवस्थापन गरेका थिए । सरकारले दशैँ मनाउका लागि प्रति कैदीबन्दी रु तीन सय र लत्ताकपडा बापत रु दुई हजार पाँच सय उपलब्ध गराएको थियो ।
केही कैदीबन्दीले मुढा विक्री गरेरसमेत दशैँ खर्च जुटाएका थिए । तनहुँ कारागारमा तीन सय ३० कैदीबन्दी छन् । उनीहरूलाई कारागारभित्र रहेका दुईओटा ब्लकमा व्यवस्थापन गरिएको छ । (रासस)