सान फ्रान्सिस्को । बोइङले आगामी केही महिनामा आफ्ना १० प्रतिशत कर्मचारीलाई हटाउने कम्पनीले शुक्रबार जनाएको छ । एक महिना लामो हडतालका कारण बोइङको उत्पादनमा कटौती हुने कम्पनीले जनाएको छ ।
बोइङका अनुसार रोजगारी कटौतीले कम्पनीका सबै तहका करिब १७ हजार कामदारलाई असर पार्ने छ । कम्पनीले २९ ओटा जेटका लागि हालको माग पूरा गरेपछि सन् २०२७ मा ७६७ मोडेलको (वाइडबडी मालवाहक) जहाजको उत्पादन बन्द गर्ने छ ।
कम्पनीले आफ्नो नयाँ ७७७ एक्सको उत्पादनलाई बजारमा ल्याउने प्रक्रियालाई सन् २०२६ सम्म सार्ने बताएको छ ।
प्रमाणीकरणको वर्षौंको ढिलाइ र हालैको एक त्रुटिपूर्ण भागको खोजपछि बोइङको नयाँ ७७७ मोडेलले यस वर्षको सुरुमा परीक्षण उडान रोकेको थियो ।
बोइङका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत केली ओर्टबर्गले कर्मचारीलाई पठाएको पत्रमा कम्पनीले हाम्रो वित्तीय वास्तविकतासँग मेल खाने गरी आफ्नो कार्यबलको स्तर पुनः तय गर्नुपरेको बताउनुभएको छ ।
उहाँले भन्नुभयो– ‘हामीले सामना गरिरहेको कामको बारेमा स्पष्ट र यथार्थवादी हुन आवश्यक छ । यसले पुनरुत्थानको मार्गमा महत्त्वपूर्ण सफलता मिल्ने छ । हाम्रा स्रोत प्रदर्शन गर्न र नवप्रवर्तनमा ध्यान केन्द्रित गर्न आवश्यक छ ।’ (रासस/सिन्ह्वा)