काठमाडौँ । आज शनिबार कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा हुने अनुमान गरिएको छ ।
देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तरी भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा यस्तो अनुमान गरिएको हो ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशको पूर्वी भूभागमा साधारण बदली रही बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।
दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।