विष्णु शर्मा ##
Advertisement
जनतालाई सहुलियत होला भन्दा
दशैको मुखमा
प्राकृतिक प्रकोप आएर सधैँ
पार्दछ दुःखमा
यही समय पारेर सधैँ
बिचौलिया रमाँउछन्
बस र जहाजको टिकटको मूल्य
तीर्बल बनाउँछन्
जनतालाई परान बचाउन यहाँ
धौ धौ भा’को छ
अति आवश्यक सामानको मूल्य
आकाशिँदै गा’को छ
मौलाउँदै गयो कालाबजारी
आपत्को बेलामा
बत्ति बाली खोज्दा’नी पाइन्न
सरकारको ठेगाना
रमाउँछ सरकार यिनै जनताले
तिरेको करमा
जनता कहिल्यै बाच्न पाउन्नन्
सरकारको भरमा
जनताको खुसी खोसिने गर्छ
हर वर्ष चाडमा
बिचौलियाले अन्याय गर्छन्
सरकारकै आडमा
हिम्मत साहसयुक्त युवा
विदेशमा पठाउने
देशमा मनपरी हुँदा आवाज
कसले हो उठाउने ?
बनाउनुपर्छ युवा स्वरोजगार
लक्षित योजना
देख्न पाउन उज्यालो
भविष्यको देशमै सपना
बोल्न पाउन अन्याय पर्दा
मुक्तकण्ठ खोलेर
अन्याय गर्ने थरथर होउन्
युवा छन् भनेर