रमेश लम्साल, काठमाडौँ ।
बिजुली उत्पादन गर्न ठिक्क भएको आयोजना बाढीले बगायो । आयोजना मात्रै बगेन, त्यहाँ कार्यरत १८ जना कामदार पनि बाढीमै मिसिए । तीमध्ये चार जनाको मात्रै शव फेला पर्यो । बाढीले उनीहरूका परिवारको खुसी उजाडियो । लालाबाला टुहुरा भए । आयोजना एकाएक खण्डहरमा परिणत भयो । करोडौँ मूल्यका सामान बाढीले बेपत्ता बनायो । हेवाखोलाको बाढीको वितण्डाले उठ्नै नसक्ने गरी समस्यामा पारिदिएको आयोजनाको नाम हो– सुपर हेवा पावर कम्पनी ।
सिन्धुपाल्चोकका निमा लामा पहिलोपटक जलविद्युत् आयोजनामा जोडिएर लगानी गर्नुभएको थियो । आयोजनाबाट बिजुली बाल्ने अन्तिम तयारी हुँदा गर्दा २०८० असार १ र २ गतेको अविरल वर्षापछिको बाढीले दिएको दुःख भुल्दै फेरि निर्माणमा जुटनुभएका लामालाई यस वर्ष पनि गत वर्षकै पीडा दोहोरियो । गत वर्षको बाढीले आयोजनाको पाइप र अन्य निर्माण सामग्री बगाएको थियो । त्यो बेला झन्डै रु ४० करोड बराबरको क्षति भएको थियो । निर्माण व्यवसायीले बिमा नगर्दा क्षतिपूर्ति पाउनसमेत समस्या भयो ।
उपकरणको भन्दा पनि मानव जीवनको क्षति ठुलो भयो । बेपत्ता भएका बर्दियाका कामदारको अवस्था हालसम्म पत्ता लागेको छैन । निर्माणमा संलग्न मजदुर छोराछोरी जस्तै प्रिय थिए । आफ्ना प्रिय मान्छेलाई खोलाले निलेपछि निमाको आँखा धेरैदिन ओभानो भएन ।
‘म धेरै दिनसम्म रोएँ । मलाई असाध्यै नरमाइलो लागिरह्यो । मेरो आयोजनामा काम गर्न आएका मजदुरको शवसमेत हालसम्म फेला परेको छैन । फेरि त्यस्तै कहर यसपटक पनि आयोजनाले खेप्नु परेको छ’ उहाँले भन्नुभयो ।
बिमालगायत प्रत्येक मजदुरका परिवारलाई रु आठ लाख बराबरको राहत उपलब्ध गराइए पनि मानव जीवनको क्षतिपूर्ति कसरी हुँदो हो र ? निमा भन्नुहुन्छ– ‘आयोजनाको फेरि निर्माणका लागि भन्सारमा सामान रोकियो । अनेकन् हन्डरठक्कर ब्यहोरेर पुनः आयोजना सुरु गर्दानगर्दै समस्या दोहोरियो ।’
गत वर्ष जनधन दुवैको क्षति भएको भए पनि यस वर्ष मानव क्षति भने भएन । यसैमा खुसी छन् निमा । चैनपुर सिद्धपोखरीदेखि आयोजनास्थल मुच्छेबुङसम्म पुग्ने पहुँचमार्गको छ किलोमिटर खण्डको दर्जनौ स्थानमा पहिरो गएको छ । नियमित काम हुन पाएको भए आगामी कात्तिक मसान्तसम्म आयोजनाबाट बिजुली उत्पादन हुने थियो तर यसपटक पनि प्राकृतिक विपत्तिका सामु उहाँको केही लागेन । हेवामा गत वर्षको जस्तै बाढी आयो । क्षति पुर्यायो । बिजुली बाल्ने सपना पर धकेलियो ।
निमाले भन्नुभयो– ‘प्राकृतिक विपत्तिले दिनुसम्मको दुःख दियो ।’ कुल छ मेगावाट क्षमताको सो आयोजना आकर्षकमध्येको एक हो । जलविद्युत् क्षेत्रमा लगानी गर्ने मनसाय राखेर ठुलो दुःखका साथ लागिपरेको भए पनि प्रकृतिसँग केही नलागेपछि उहाँ दुःखी देखिनुहुन्छ ।
सरकारी निकायले समन्वय नगर्दा भन्सारमा सामान रोकिने, निर्माणको काम गतिका हुन नसक्दा दिनप्रतिदिन लागत बढेको उहाँ सुनाउनुहुन्छ । बाढीका कारण सिभिल काम, इन्टेक, बालुवा थिग्रयाउने पोखरी, बाँध, विद्युत्गृह, टेलरेसलगायतका संरचनामा क्षति पुगेको थियो । नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद सम्झौताअनुसार विद्युत् जोड्ने समय २०८० असार ३१ गते थियो । बाढीले ती सबै लक्ष्यमाथि तुषारापात गरिदिएको उहाँको भनाइ छ । अब त सरेर आगामी माघसम्म पुग्ने होला भन्ने चिन्तामा हुनुहुन्छ उहाँ ।
गत वर्षको बाढी र यस वर्षको बाढीले धेरै जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ । गत वर्ष मात्रै निर्माणमा रहेका १८ ओटा परियोजनामा क्षति पुगेको थियो । त्यसबाट मुलुकले ठुलो आर्थिक नोक्सानी ब्यहोर्नुपरेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाले नदीमा आएको बाढीका कारण ३६ आयोजनामा क्षति पुगेको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान) ले जनाएको छ ।
यसपटकको बाढीले रु दुई अर्ब ५० करोड बराबरको क्षति पुर्याएको छ । क्षतिको विवरण सङ्कलन काम भइरहेकाले केही बढ्न सक्ने देखिन्छ । गत वर्षको बाढीले रु १० अर्ब बराबरको क्षति भएको इप्पानले दाबी गरेको थियो । गत वर्ष पूर्वी नेपालमा मात्रै क्षति भएको भएपनि यस वर्ष धेरैतिर भएको अनुमान छ ।
इप्पानका अनुसार यस वर्षको बाढीबाट ३६ ओटा आयोजना प्रभावित भएका छन् । त्यसमा सबैभन्दा बढी क्षति बाग्मती साना जलविद्युत् आयोजनाको भएको छ । सो आयोजनाको रु एक अर्ब बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । सो आयोजना २२ मेगावाट क्षमताको हो । यस वर्ष बाढीका कारण माउन्टेन हाइड्रो नेपालद्वारा प्रवर्द्धित २२ दशमलव एक मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजनाको बिजुली उत्पादन बन्द भएको छ । सो आयोजना गत वर्ष पनि बाढीबाट प्रभावित भएको थियो । हाल उक्त आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ ।
पाँचथर पावरद्वारा प्रवर्द्धित १४ दशमलव नौ मेगावाट क्षमताको हेवाखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पनि बन्द भएको छ । गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनःनिर्माण सकेर सञ्चालनमा आउनै लाग्दा आयोजना पुनः क्षतिग्रस्त भएको हो ।
साहस ऊर्जाद्वारा प्रवर्द्धिधत ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत् आयोजनाको बाँध स्थलमा क्षति पुग्दा विद्युत् उत्पादन बन्द छ । सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवर्द्धिधत तीन मेगावाट क्षमताको माइखोला क्यासकेड जलविद्युत् आयोजनाको बाँधलगायतका संरचनामा क्षति पुगेको छ । इप्पानका अनुसार सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवर्द्धित नौ दशमलव छ मेगावाट क्षमताको माइखोला जलविद्युत् आयोजनाको बाँध र प्रसारणलाइनमा क्षति पुगेको छ । फेमेखोला जलविद्युत् आयोजना सिउरीखोला पनि बाढीले क्षति पुर्याउँदा विद्युत् उत्पादन बन्द भएको जनाइएको छ ।
कुल ४० मेगावाट क्षमताको सुपरन्यादी जलविद्युत् आयोजनाको पहुँचमार्ग र सुरक्षा पर्खालमा बाढीका कारण क्षति पुगेको छ । इलेपखोला तातोपानी जलविद्युत् आयोजनामा पनि बाढीले क्षति गरेको छ भने कोरियन लगानी रहेको २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ को क्याम्प हाउस र पहुँचमार्गमा क्षति भएको छ । निर्माण सामग्री राखिएको तीन ओटा कन्टेनर बगाएको छ । हेवाखोला जलविद्युत् आयोजनाको क्रसर पुरिएको छ भने पहुँचमार्गमा क्षति भएको छ । यस्तै, बाढीका कारण प्रसारणलाइनको टावर ढलेका छन् भने पावर हाउसमा जडान गर्न ल्याइएका सामग्री बगाएको छ ।
सभाखोला बी जलविद्युत् आयोजनाको पहुँचमार्गमा पहिरोका कारण समस्या उत्पन्न भएको छ । यसैगरी पावरहाउस पुरिएको र बाँधमा क्षति हुन गएको छ । इप्पानका अनुसार सभाखोला सी जलविद्युत् आयोजना पहुँचमार्गमा क्षति पुगेको छ भने लान्द्रुक मोदी जलविद्युत् आयोजनाको पनि सडक पूर्वाधार बगाएको छ ।
बाढीले सुपर त्रिशूली जलविद्युत् आयोजनाको निर्माण उपकरण बगाएको छ । कुल एक सय मेगावाट क्षमताको सो आयोजना निर्माणको क्रममा छ । आयोजनाको दुई ओटा स्काभेटर लोडर र तीन ओटा टिप्पर बगाएको छ । त्यस्तै, बेलीब्रिज र खन्ने क्रममा रहेको पावरहाउस पुरिएको छ ।
तामाकोशीको क्षति ठुलो
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोशीको क्षति यकिन हुन बाँकी छ । हाल प्राविधिकहरू आयोजना स्थल पुगेर मूल्याङ्कन गरिरहेको जनाइएको छ । बाँधस्थलमा अवस्थित कन्ट्रोल रुममा पूर्ण रूपमा क्षति भएको छ । सेटलिङ बेसिन, बक्स बेसिन, बक्स कल्भर्टमा बालुवा र ग्रेगान थुप्रिएको छ । बाढीका कारण दुई सुरक्षाकर्मी र दुई कर्मचारीलाई तामाकोशी नदीले बगाएको थियो ।
कुल चार सय ५६ मेगावाट क्षमताको सो आयोजना बन्द हुँदा बिजुली व्यवस्थापनमा प्राधिकरणलाई समस्या भएको छ । सो आयोजनाको बिजुली आन्तरिक रूपमा खपत गरेर अन्य आयोजनाको बिजुली भारत निकासी हुँदै आएको थियो । क्षतिको मूल्याङ्कन भइरहेको जानकारी दिँदै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लामो समयसम्म आयोजना बन्द हुने अवस्था आए हिउँदमा बिजुली व्यवस्थापन गर्न गाह्रो हुने बताउनुभयो ।
इप्पानका अनुसार गत वर्षको बाढीले सुपर हेवाखोला (६ मेवा) पिलुवाखोला (४ मेवा), सवा खोला बी (२१.५ मेवा), सवा खोला सी (६.३ मेवा), इन्ग्वा खोला (९.७ मेवा), सुपर काबेली ए (१३.५ मेवा), सुपर काबेली खोला क्यासकेड (१२ मेवा), काबेली (२१.९३ मेवा), काबेली ए (३७.६ मेवा), हेवा खोला ए (७.५ मेवा), इसुवा खोला (९७.५ मेवा), इसुवा क्यासमेड (४० मेवा), तल्लो इर्खुवा (१४.१ मेवा), माथिल्लो इर्खवा (१४.५ मेवा), सवा खोला ए (१०.४ मेवा), माया खोला (१४.९ मेवा) मा समस्या पारेको थियो । ती सबै आयोजना निर्माधिन अवस्थामा थिए ।
बाढीका कारणले ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा रहेका २३ ओटा जलविद्युत् आयोजना प्रभावित भएका थिए । उक्त वर्ष हेवाखोला, माया खोला, काबेली, इवा र इङ्गुवा खोला तथा नदी बेसिनमा निर्माणाधीन तथा सञ्चालनमा रहेका २३ जलविद्युत् आयोजनामा क्षति पुगेको थियो ।
निजी क्षेत्रका ऊर्जा उत्पादकले निर्माण अवधिको ब्याज छुटदेखि पुनः निर्माणमा प्रयोग हुने स्पेयर्स पार्टसको भन्सार दर एक प्रतिशत नै कायम गर्न माग गरेको भए पनि हालसम्म पूरा नभएको जनाइएको छ । इप्पानका अध्यक्ष गणेश कार्कीले भन्सार महसुल वृद्धि हुँदा मर्मतको उपकरण ल्याउन समस्या भएको गुनासो गर्नुभयो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा यही असोज १३ गते आयोजित पत्रकार सम्मेलनमा उपस्थित कार्कीले ऊर्जा मन्त्रालय र अर्थ मन्त्रालयमा फाइल पठाउने काम मात्रै भएको र गत वर्षको बाढीका कारण समस्यामा परेका आयोजनाको हालसम्म सम्बोधन हुन नसकेको बताउनुभएको थियो । गत वर्षको बाढीले ९५ प्रतिशत निर्माण पूरा भएको आयोजनाको सबै संरचना बगाएको थियो । अघिल्ला वर्षको बाढीले क्षति पुर्याएर पुनःनिर्माण गरी सञ्चालनमा ल्याइएका आयोजनासमेत प्रभावित भएका थिए ।
निजी क्षेत्रको माग
निजी क्षेत्रले आयोजनाको अनुमतिपत्रको म्याद थप, पुनर्कर्जाको माग गर्दै आएका छन् । इप्पान अध्यक्ष कार्कीले यस वर्ष पनि आफूहरूको माग पुरानै रहेको बताउनुभयो । जलविद्युत् आयोजनाका प्रवर्द्धकले बिमा गरेको भए पनि बिमाको दाबी भुक्तानीका लागि समस्या भइरहेको बताएका छन् ।
ऋण लगानी गर्दा कुनै एउटा संस्थाको नेतृत्वमा विभिन्न बैङ्क तथा वित्तीय संस्थाले सहवित्तीयकरण गरे जस्तै बिमामा पनि त्यस्तै व्यवस्था गर्नुपर्ने माग गरेका छन् । गत वर्षको जस्तो जलविद्युत् आयोजनामा मानवीय क्षति नभए पनि अन्य संरचनामा पुगेको क्षतिले समग्र अर्थतन्त्रमा समस्या ल्याउन सक्ने देखिन्छ ।
पूर्वानुमानका कारण क्षति कम
यस वर्ष जल तथा मौसम विज्ञान विभागले गरेको पूर्वानुमानका आधारमा आवश्यक सतर्कता अपनाउँदा गत वर्षको तुलनामा मानवीय क्षति नभएको देखिन्छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खडकाका अनुसार घनघोर वर्षा र बाढीको पूर्वानुमान जलविद्युत् आयोजनालाई जानकारी गराउँदा गराउँदै पनि क्षति भएको छ । पूर्वानुमान नगराएको भए यसपटक पनि गत वर्षको जस्तै ठुलो जनधनको क्षति हुने उहाँको दाबी छ ।
जलविद्युत् आयोजनामा रातको समयमा नबस्न, यातायातका सवारी साधन नचलाउन सरकारको तर्फबाट निर्देशन दिइएको थियो । त्यसकारण पनि आयोजनमा अन्य क्षति भएपनि मानवीय क्षति रोक्न सकिएको हो ।
११०० सय मेगावाट विद्युत् प्रणाली बाहिर
यस वर्षको बाढीले एक हजार एक सय मेगावाट बराबरको विद्युत् उत्पादनमा अवरोध उत्पन्न भएको छ । जलविद्युत् आयोजनाका प्रसारण लाइन तथा वितरण प्रणालीमा जटिलता पैदा भएको छ । उत्पादन रोकिएका आयोजनाको क्षमता छ सय ५० मेगावाट बराबर छ ।
आपतकालीन अवस्थामा अधिकांश विद्युत् गृह बन्द हुन जाँदा प्राधिकरणलाई माग धान्न समेत कठिनाइँ भएको थियो । बाढी र अविरल वर्षाका कारण एक हजार एक सय मेगावाट बराबरका ३६ आयोजनामा क्षति भएको ऊर्जा मन्त्रालयको प्रारम्भिक विवरणमा उल्लेख छ ।
बाढीका कारण पूर्वी नेपालको माग धान्ने काबेली करिडोरका आयोजनामा क्षति पुगेको छ । सो प्रसारण लाइनको तीनओटा टावरमा क्षति पुग्दा झन्डै दुई सय मेगावाट बराबरको बिजुली प्रणालीभन्दा बाहिर रहेको छ ।
यस्तै, तामाकोशी करिडोरको बिजुली काठमाडौँ ल्याउने खिम्ती लामोसाँघु प्रसारण लाइनको एउटा टावर तामाकोशी नदीले बगाएको छ । सो प्रसारण लाइनमा समस्या आउँदा दुई सय मेगावाट बराबरको बिजुली प्रणालीभन्दा बाहिर छ । खिम्ती ढल्केबर २२० केभी क्षमताको एउटा टावरमा समस्या भएको छ । यस्तै, अविरल वर्षाका कारण सडक भासिएपछि बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को बर्दघाट नगरपालिका–५ दाउन्नेस्थित खुर्सानीखोलामा सडक भासिएपछि त्यस भन्दामाथि डाँडामा रहेको प्रसारणलाइनको टावर ढलेको प्राधिकरणले जनाएको छ ।
टावर ढलेपछि चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालित होङ्शी शिवम् सिमेन्टको विद्युत् आपूर्ति सोमबार साँझदेखि बन्द भएको छ ।
एउटा आयोजना बन्द हुँदा त्यसको असर अन्यत्र पर्दैन, तर एउटा टावरमा समस्या आउँदा ठुलो प्रभाव पर्न जान्छ । धेरै जलविद्युत् आयोजनाको बिजुली प्रवाह हुन नसक्दा माग व्यवस्थापन गर्न समस्या हुने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।
गत वर्ष र यसपटकको बाढीको प्रकृति फरक भएपनि जलविद्युत् आयोजनामा क्षति पुगेको छ । पुनःनिर्माण र मर्मत गर्ने उपकरणको आयात र भन्सार शुल्क र मूल्य अभिवृद्धि करलगायतका विषयमा निजी क्षेत्र र सरकारी निकायबीच मतैक्य हुन सकेको छैन ।
खासगरी पहुँचमार्गमा पुगेको क्षतिका कारण निर्माण सामग्री लैजान समस्या पर्ने भएको छ । सडक र पुलमा यस वर्षको बाढीको क्षति बढी छ ।
त्यसबाट पनि आयोजनाको मर्मत सम्भार र निर्माणमा रहेका आयोजनाको समय लम्बिन जान्छ । त्यसबाट प्राधिकरणसँग भएको सम्झौताअनुसार तोकिएको समयमा बिजुली उपलब्ध हुन सक्दैन । ऊर्जामन्त्री खड्का पुनःनिर्माण, पहुँचमार्ग निर्माण र बिमालगायतका विषयमा अर्थमन्त्रालयसग छलफल गरेर आवश्यक निर्णय गरिने बताउनुहुन्छ ।
मुलुकको ऊर्जा क्षेत्रले बाढीपहिरो र वर्षाका कारण पछिल्ला केही वर्षदेखि क्षति भाग्नु परेको छ । विसं २०७४ साउनमा आएको अविरल वर्षाले प्राधिकरणको एक दर्जनभन्दा बढी सवस्टेशन तथा अन्य भौतिक संरचनामा क्षति पुगेको थियो । यस्तै, २०७८ सालको असारमा आएको बाढी तथा पहिरोले डेढ दर्जन आयोजनामा क्षति पुगेको थियो । कास्कीमा निर्माणका क्रममा रहेको ४४ मेगावाट क्षमताको सुपर मादीमा झन्डै रु एक अर्ब बराबरको नोक्सानी भएको थियो । मोदी नदीको बाढीका कारण बाँधस्थल, विद्युत्गृह, कामदार आवास गृह, लोडर एक्साभेटर, पेनस्टक पाइप, ककर्सर प्लान्टलगायतका उपकरण बगाएको थियो ।
त्यस वर्षको बाढीले सुपर दोर्दी, दोर्दी–१ मा समस्या पारेको थियो । रसुवागढीको टेलरेसबाट बाढी पसेको थियो । सोही बर्ष नै मेलम्चीमा आएको बाढीले तवाह नै मच्चाएको थियो ।
बिमा कम्पनीले जलविद्युत् आयोजनाको बिमा गरेको भएपनि भुक्तानी पाउन समस्या पर्दै आएको छ । गत वर्षको मात्रै दाबी भुक्तानी रु सात अर्ब बराबर छ । यस वर्षको समेत दायित्व थप भएको छ । भुक्तानी नहुँदा मर्मत सामग्री र उपकरण ल्याउन समस्या पर्दै आएको छ । आयोजना प्रवर्द्धकले हरेक वर्ष कुल लागतको दुई प्रतिशत रकम प्रिमियम वापत तिर्दै आएको आएको भएपनि दाबी भुक्तानीका लागि बिमा कम्पनीले अटेर गर्दै आएको गुनासो गर्दै आएका छन् ।
मुलुकको अर्थतन्त्रको प्रमुख आधार स्तम्भका रूपमा रहेको ऊर्जा क्षेत्रमा बाढी तथा पहिरोले पुर्याएको समस्या समाधानका लागि आयोजनाको अध्ययन, डिजाइन र निर्माण पूर्व नै पूर्वानुमान गर्ने प्रणाली र कार्यशैलीमा सुधार गर्नु जरुरी रहेको विज्ञहरू बताउँछन् । ठुलो लगानीका आयोजना अगाडि बढाउँदा वैज्ञानिक तथ्य र पूर्वानुमानलाई तथ्यमा आधारित हुनुपर्छ । जोखिम व्यवस्थापनको पूर्वतयारी पनि उत्तिकै महत्त्वपूर्ण हुने उहाँहरूको भनाइ छ ।
जलवायु र वातावरणका जानकार डा पपुलर जेन्टल विकास र वातावरणबीचको सन्तुलनको अभावमा समस्या पैदा भएको बताउनुहुन्छ ।
‘हाम्रा भौतिक पूर्वाधार निर्माण नदी केन्द्रित भएको छ । एकापसमा सन्तुलनको अभाव छ । पूर्वानुमान र पूर्वतयारीको काम समेत प्रभावकारी हुन सकेको छैन’ उहाँले भन्नुभयो ।
उहाँले विकास निर्माण र वातावरणबिच सन्तुलन कायम गरेर अगाडि बढ्दा मात्रै बाढीपहिराबाट जोगाउन सकिने बताउनुहुन्छ । (रासस)