• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अविरल वर्षाले सिङ्गो देश अस्तव्यस्त (फोटासहित)


  •   शनिबार, असोज १२, २०८१ मा प्रकाशित
  • काठमाडौँ । बिहीबारदेखि परेको अविरल वर्षाले देश अस्तव्यस्त बनेको छ । वर्षाका कारण बाढीपहिरो, डुबान, यातायातमा अवरोध जस्ता समस्या उत्पन्न हुँदा सिङ्गो देश अस्तव्यस्त बनेको छ । प्रस्तुत छ, त्यसबारे केही समाचार :

    Advertisement

    हालसम्म बाढीपहिरोबाट छ जनाको मृत्यु

    अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बिपत्का घटनामा हालसम्म छ जनाको मृत्यु भएको छ । बाढीपहिरालगायत बिपत्मा परी सात जना घाइते र सात जना बेपत्ता भएका केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

    पहिरोबाट पाँचथर, धनकुटा, काभ्रेपलाञ्चोक र ललितपुरलगायत जिल्लामा केही घर पुरिँदा मानवीय क्षति भएको छ । क्षतिको पूरा विवरण आउन बाँकी छ । बाढीपहिरामा बेपत्ता भएकाको खोजी जारी छ ।

    पछिल्लो बिपत्बाट करिब चार सय नागरिक विस्थापित भएका र विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उहाँले बताउनुभयो । उद्धार गरिएका नागरिकको व्यवस्थापनमा तदारुकताका साथ काम भइरहेको छ ।

    प्रहरी प्रवक्ता कार्कीका अनुसार एक सय ५० भन्दाबढी स्थानमा बाढीपहिरालगायत बिपत्का घटना भएका छन् । २८ स्थानमा प्रायः सबै राजमार्ग, मुख्य सडकमार्ग अवरुद्ध छन् । अवरुद्ध सडक खुलाउन सबै निकायसँग समन्वय भइरहेको प्रहरी नायब महानिरीक्षक कार्कीले बताउनुभयो ।

    केही नदीमा जलसतह खतरास्तर नजिक

    अविरल वर्षाका कारण पूर्वमा सङ्खुवासभास्थित अरुणदेखि पश्चिममा कपिलवस्तु जिल्लास्थित बाणगङ्गासम्मका लगभग सबै नदीमा जलसतह खतराको स्तर नजिक रहेको छ ।

    जल तथा मौसम विज्ञान विभागद्वारा आज राति जारी विशेष बाढीसम्बन्धी सूचनामा अरुण, दूधकोशी, सुनकोशी, बागमती, नारायणी, तिनाउ र वाणगङ्गा तथा तिनका सहायक नदीमध्ये केहीले चेतावनी स्तर पार गरिसकेका र केही खतराको स्तर नजिक रहेको उल्लेख छ ।

    विभागका अनुसार, सुनकोशी र बागमती नदीमा जलसतह खतरास्तरभन्दा माथि रहेको तथा अरुण, दूधकोशी, नारायणी, तिनाउ र वाणगङ्गा सबैले पनि सतर्कताको थ्रेसहोल्ड पार गरिसकेको उल्लेख छ । अहिले पनि ती सबै नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी २४ घण्टा थप भारी वर्षाको पूर्वानुमान गरिएको जनाइएको छ । विभागले निरन्तर वर्षा भइरहेकाले अनावश्यक यात्रामा ननिस्कन र सुरक्षित रहन समेत सबैलाई आग्रह गरेको छ ।

    बागमती प्रदेश बढी प्रभावित

    मुलुकभर तीन दिनदेखि परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । गृह मन्त्रालयका अनुसार अविरल वर्षाका कारण तुलनात्मक रूपमा बागमती प्रदेश बढी प्रभावित भएको छ ।

    बागमतीको खासगरी काभ्रेपलाञ्चोक, काठमाडौँ र ललितपुरमा क्षतिका घटना भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । बिपी राजमार्ग, पृथ्वी राजमार्गलगायतका यस क्षेत्रका सानाठुला गरी धेरै सडक अवरुद्ध छन् ।

    अन्य प्रदेशमा पनि राजमार्ग अवरुद्ध तथा खोला र नदी किनारका खेतीयोग्य जमिन कटानका थुप्रै घटना भएका छन् । अहिले अन्य भागको तुलनामा सुदूरपश्चिम र कर्णालीमा भने सामान्य पानी परेको छ ।

    कोसी प्रदेशका धनकुटालगायत क्षेत्रमा केही क्षतिको विवरण प्राप्त भएको मन्त्रालयको भनाइ छ । पश्चिमतर्फ कालीगण्डकी करिडोर पनि अवरुद्ध छ । अवरुद्ध सडक खुलाउन स्थानीयको सहयोगमा सुरक्षाफौज र सडक विभागले काम पनि गरिरहेको छ । मानवीय र भौतिक क्षतिलाई न्यून गर्न मन्त्रालयको प्रयास केन्द्रित रहेको उहाँले जानकारी दिनुभयो ।

    मन्त्रालयले सबै नागरिकलाई वर्षाको समयमा अत्यावश्यक अवस्थाबाहेक घर बाहिर र नदी किनारमा नजान अनुरोध गरेको छ । मुलुकका अहिले विभिन्न नदीले जलसतहका हिसाबले २२ ओटा नदीले खतराको सीमा पार गरेको छ र १४ ओटा चेतावनीको अवस्थामा रहेका छन् ।

    हवाई उडान प्रभावित

    निरन्तरको भारी वर्षाका कारण हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण शुक्रबार साँझ ७ बजेदेखि स्थगित गरिएको आन्तरिकतर्फ उडान अहिलेसम्म खुलेको छैन ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आन्तरिक उडान अहिलेसम्म खुलेको छैन भने अन्तर्राष्ट्रियतर्फको उडान भने सञ्चालन भइरहेको छ ।

    शनिबार विहान जजिरा एयरको विमान काठमाडौँ विमानस्थलमा अवतरण गर्‍यो भने फ्लाइ दुबईको विमान डाइभर्ट भएको छ । एयर अरेबियाको विमान भर्खरै अवतरण भएको छ ।

    वर्षाका कारण भिजिबिलिटी कमजोर हुँदा शुक्रबार पनि आन्तरिकतर्फ धेरैजसो उडान रद्द भएको थियो । शुक्रबार अन्तर्राष्ट्रियतर्फ दुई विमान होल्ड हुनका साथै धेरै उडान डिले भएका थिए ।

    इन रुट वेदर बिग्रिएकाले अन्तर्राष्ट्रिय उडानका विमानलाई पनि अवतरणमा कठिनाइ भएको थियो । शुक्रबार थाई एयरवेजको विमान करिब दुई घण्टा सिमरामाथिको आकाशमा होल्ड भएको थियो भने इण्डिगो एयर पनि एक घण्टा होल्ड भएर अवतरण भएको थियो ।

    विमानस्थलका अनुसार शुक्रबार आन्तरिकतर्फ दुईतर्फी तीनसय १६ उडान तालिका रहेकामा दुई सय ३८ हाराहारी उडान रद्द भएका थिए ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले खराब मौसमका कारण शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहानसम्म आन्तरिकतर्फ सबै उडान स्थगित गरेको थियो ।

    पाँचथरमा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु

    पाँचथरमा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु भएको छ । निरन्तरको वर्षाका कारण खसेको पहिरोमा परी पुरिँदा फिदिम नगरपालिका–४ चिसापानीमा बस्दै आएका फिदिम नगरपालिका–१२ का २५ वर्षीया सपना शेर्पा र उहाँकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको हो ।

    उनीहरूसँगै रहेका अन्य तीन जना भने भागेर बाँच्न सफल भएका छन् ।

    पहिरोमा परी आज बिहान ३ः४५ तिर दुवैजनाको मृत्यु भएको हो । मृतकको शव स्थानीयवासीको सहयोगमा प्रहरीले पहिरोबाट निकालेको छ । पहिराले यहाँ रहेको नेपाल आदिवासी जनजाति महासङ्घको भवन पनि पुरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

    काठमाडौँका करिडोर सडक बन्द

    काठमाडौँको बाग्मती, विष्णुमति, हनुमन्तेलगायत खोलामा जलसतह बढेपछि करिडोरका सडक प्रायः बन्द भएका छन् । सबै खोलामा करिडोर सडकमा पानी उक्लने अवस्था बनेको छ । प्रहरीले नदी करिडोर तथा डुबान हुन सक्ने सबै क्षेत्रमा सचेत गराएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

    मलेखु सडकको दुई ठाउँमा पहिरो

    जिल्ला सदरमुकाम धादिङबेसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेसी मलेखु सडक पहिरोले अवरुद्ध बनेको छ ।

    नीलकण्ठ नगरपालिका–८ दारेगौडा र साघुटारमा सडकमाथिबाट खसेको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध बनेको हो ।

    अहिले त्यस क्षेत्रमा सवारी आवागमन बन्द भएको छ । केही वर्ष अघिदेखि पहिरो खस्दै आएको स्थानमा फेरि पहिरो आएको स्थानीयले बताएका छन् ।

    पहिरोले ढुङ्गा र रुख खसेकाले तत्काल बाटो खुलाउन कठिन रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिनुभयो ।

    कोसी ब्यारेजका सबै ढोका खोलिए

    निरन्तर वर्षा भएसँगै सप्तकोसी नदीको जलसतह बढेको छ । जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी अहिले कोसी ब्यारेजका सबै ५६ ओटा ढोका खोलिएको छ ।

    शनिबार बिहान ७ बजे तीन लाख ८१ हजार आठ सय ४० क्युसेक प्रतिसेकेन्ड जलसतह मापन गरिएको थियो भने ८ बजे चार लाख १८ हजार दुई सय ८५ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको सुनसरी जिल्ला प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

    नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ । पानीको सतह निरन्तर बढेपछि कोसी ब्यारेजमा जोखिमको सङ्केत देखिन थालेको सुनसरी जिल्ला प्रमुख अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।

    सप्तकोसी जलमापन केन्द्रले जलसतह जोखिम बिन्दुभन्दा माथि पुगेको बताएको छ । नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख अधिकारी तिवारीले आग्रह गर्नुभएको छ ।

    सिन्धुपाल्चोकमा पहिरोले घर पुरिँदा दुईको मृत्यु

    सिन्धुपाल्चोकको लिसङ्खु पाखरमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । लिसङ्खु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाका अनुसार गएराति आएको पहिरोले पुरिएर वडा नं. ३ का पूर्वअध्यक्ष काजीबहादुर लामा र उहाँकी श्रीमतीको मृत्यु भएको हो ।

    घरमा सुतिरहेकाको समयमा राति १ बजेतिर आएको पहिरोले पुरिँदा दुवै जनाको मृत्यु भएको अध्यक्ष लामाले जानकारी दिनुभयो । स्थानीयले रातिदेखि नै उद्धार सुरु गरेका थिए ।

    अविरल वर्षाका कारण सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ । सुनकोसी नदीले खतराको तह पार गरेको छ । अरनिको राजमार्गलगायत अन्य सहायक मार्गमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । इन्द्रावती नदीमा आएको बाढी इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा पस्दा आयोजना बन्द भएको आयोजनाका कर्मचारी विनोद कार्कीले जानकारी दिनुभयो ।

    मेलम्ची खोलामा आएको बाढीले मेलम्ची–७ र हेलम्बु गाउँपालिका–४ जोड्ने तालामाराङ डाँडापसलको झोलुङ्गे पुल उच्च जोखिममा रहेको स्थानीय तारा गिरीले जानकारी दिनुभयो ।

    स्याफ्रु–रसुवागढी खण्ड अवरुद्ध

    निरन्तरको भारी वर्षाका कारण सडकमा पहिरो खस्दा स्याफ्रु–रसुवागढी खण्डको सडक अवरुद्ध भएको छ । जसका कारण सयौँको सङ्ख्यामा सवारीसाधन अलपत्र परेका छन् ।

    काठमाडौँबाट रसुवागढी जाँदै गरेका र केरुङबाट काठमाडौँका लागि मालवस्तु बोकी आएका मालवाहक सवारीसाधन टिमुरे क्षेत्रमै रोकिएको रसुवाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिनुभयो ।

    सडक मार्ग खोल्ने प्रयास गरिए पनि धेरै स्थानमा आएको पहिराका कारण ठाउँठाउँमा हिलोमाटोको लेदोसमेत भरिएको उहाँले बताउनुभयो ।

    सडकमार्ग अवरूद्ध भएका कारण मानसरोवर कैलाशको धार्मिक यात्रा सम्पन्न गरी फर्केका यात्रु टिमुरेमा रोकिएको सीमा सुरक्षाकर्मीले जानकारी दिए । चीनबाट आयात भएका दर्जनौँ विद्युतीय सवारीसाधन सडक बन्द भएपछि टिमुरेमै रोकिएका छन् ।

    पहिरोका कारण टिमुरे बजार एवम् रसुवागढीको सीमावर्ती क्षेत्रमा विद्युत् तथा टेलिफोन विच्छेद भएको छ । भारी वर्षाका कारण बाढीपहिराको उच्च जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । कुनै समस्या भए सुरक्षा अङ्ग वा स्थानीय तहका जनप्रतिनिधिलाई जानकारी गराई थप सहयोगका लागि जिल्ला प्रशासन कार्यालय र जिल्लास्तरीय सुरक्षा निकायमा खबर गरिदिन अनुरोध गरिएको प्रजिअ खनालले बताउनुभयो ।

    विद्यालय जाने बालबालिकालाई एक्लै नपठाउन र सहज स्थान भए पनि रातिको समयमा सवारीसाधन नचलाउनसमेत जिल्ला प्रशासन कार्यालय रसुवाले अनुरोध गरेको छ । भारी वर्षाकै कारण ग्रामीण क्षेत्रको अधिकांश सडक बन्दहुँदा बडादसैँका लागि खाद्यान्न ढुवानीमा असहज भएको छ ।

    पृथ्वी राजमार्ग अवरुद्ध

    पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

    निरन्तरको वर्षासँगै शनिबार बिहान आएको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको हो ।

    प्रमुख जिल्ला अधिकारी चितवनका इन्द्रदेव यादवका अनुसार बिहान ४ बजे पहिरो खसेको हो । पहिरो पन्छाउने काम सुरु गरिएको छ । दुई ओटा स्काभेटरले पहिरो पन्छाइरहेको उहाँले जानकारी दिनुभयो ।

    त्यस्तै इच्छाकामना गाउँपालिका–३ मौवाखोला, दतिखोला, पानीधारालगायत क्षेत्रमा पनि पहिरो खसेको उहाँले बताउनुभयो । यादवका अनुसार सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    यसैबिच नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा सडक दुई फिट तल भासिएको छ । निरन्तरको वर्षाका कारण सडक भासिन पुगेको हो ।

    कुलेखानीको जलाशयको ढोका खोलियो

    अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय (इन्द्रसरोवर ताल) मा पानी भरिएर खतराको सङ्केत देखिएपछि आज बिहान ढोका खोलिएको छ ।

    मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बाँध माथिबाट पानी बग्न थालेपछि सुरक्षालाई मध्यनजरगरी आज बिहानै तालको ढोका खोलिएको जानकारी दिनुभयो ।

    ‘जलाशय भरिन अझै एक/दुई दिन लाग्छ कि भन्ने अनुमान थियो तर गए राति नै भरियो’ प्रजिअ चिलुवालले भन्नुभयो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र कुलेखानीका प्राविधिकको टोलीको सहभागितामा जलाशयको ढोका खोलिएको प्रजिअ चितुवालले बताउनुभयो ।

    कुलेखानीको ड्याम खोलिएकाले त्यहाँबाट बग्ने पानीले मकवानपुरको भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, बागमती गाउँपालिकासँगै सिन्धुली, सर्लाही र रौतहटका नदी तटीय क्षेत्र प्रभावित हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभएको छ । कुलेखानीको क्षमता कुल एक हजार पाँच सय ३० मिटर छ ।

    कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीमा एक्कासी बाढी आउनसक्ने अवस्था देखिएकाले कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउनु हुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मी एवम् स्वयम्सेवकसमेत हाई अलर्टमा बस्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले आग्रह गरेको थियो ।

    नागमन्दिरमा पहिरो

    चन्द्रागिरि नगरपालिका–२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार सबेरै १२ः२० पहिरो खस्दा दुवैतर्फको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    नागढुङ्गा प्रहरीका ड्युटी अफिसर प्रहरी सहायक निरीक्षक दीपकबहादुर धानुकका अनुसार पहिरोले यातायात पूर्ण रूमा अवरुद्ध भएको छभने उपत्यकाभित्र र बाहिर कुनै पनि सवारी साधन पास हुन सकेका छैनन् ।

    पहिराले तनहुँ अवरुद्ध

    दुई दिनदेखि परेको निरन्तर वर्षाका कारण पहिरा जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा खण्ड अवरुद्ध भएको छ । आज बिहान १ः४५ बजे गएको पहिराका कारण घाँसीकुवा डुम्रे खण्ड अवरुद्ध भएको स्थानीय सुदीप गफारले जानकारी दिनुभयो ।

    उहाँका अनुसार शुक्रबार राति ११ः४५ बजेदेखि लेदो खसेर पहिराको जोखिम बढेको थियो । झरी परिरहेपछि १ः३० बजे सडक पहिराका कारण अवरुद्ध भएको छ । उक्त ठाउँमा गत भदौ ५ गते डाँडै खस्दा राजमार्ग अवरुद्ध भएको थियो । सोही ठाउँ पानी परेपछि जोखिममा रहने गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अविरल वर्षाका कारण बाढी, पहिराजस्ता अप्रिय घटना सिर्जना भई धनजनको क्षति हुन सक्ने भएकाले सुरक्षित रहन आग्रह गरेको छ ।

    झापामा खोलाले बगाएर तीन बेपत्ता

    लगातारको झरीका कारण खोला नदीमा आएको बाढीले बनाउँदा झापामा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक बालिका तथा दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    शुक्रबार साँझ करिब ६ बजे झापाको कमल गाउँपालिका–१ स्थित किस्ने खोलामा माछा मार्ने क्रममा सोही ठाउँका ३५ वर्षीय टीकाराम चौधरीलाई खोलाले बगाएको थियो ।

    त्यसैगरी, गौरीगञ्ज गाउँपालिका–३ र २ को सिमानामा रहेको हुलाकी सडकमा पर्ने किस्ने खोलाको पुलबाट एक व्यक्ति हामफालेर बेपत्ता भएका छन् ।

    शुक्रबार अपराह्न करिब ४ बजे गौरीगञ्ज–२ भाकुरमारी सुकुम्वासी बस्ती बस्ने अन्दाजी वर्ष ५० का केमालाल ताजपुरिया हामफालेर बेपत्ता भएको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण खोलामा आएको बाढीले उहाँको खोजीमा समस्या भएको छ । नदीको पानीको बहाव उच्च रहेकाले खोजी कार्यमा समस्या भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक रामचन्द्र साहले बताउनुभयो ।

    त्यसैगरी, कचनकवल गाउँपालिका–१ स्थित चमरभित्ताबाट झकुवा टोल आउँदै गरेकी सोही ठाउँकी पञ्चु राजवंशीकी १४ वर्षीया छोरी नेहारिकालाई जमुवा खोलाले बगाएको छ । शुक्रबार अपराह्न करिब ४ः४० बजे सो घटनाबारे प्रहरीमा जानकारी आएको थियो । खोलामा बेपत्ता कमलका चौधरी, गौरीगञ्जका ताजपुरिया र कचनकवलकी पञ्चुको खोजीमा स्थानीय प्रहरी र स्थानीवासीहरू जुटे पनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

    त्रिशूलीले एक्साभेटर र टिप्पर बगायो

    त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिप्पर बगाएको छ ।

    केही दिनदेखि परेको अविरल वर्षाका कारण नदीमा आएको भीषण बाढीले शुक्रबार राति करिब १०ः१० बजे आयोजनाको तीनओटा टिप्पर र दुईओटा एक्साभेटर बगाएको सशस्त्र प्रहरी बलका केन्द्रीय सह–प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
    बाढीले नदीको बिच भागमा रहेको मेसिन तथा टिप्पर बगाएको आयोजनाका कर्मचारी सङ्गम मग्रातीले जानकारी दिनुभयो ।

    ‘साँझतिर एउटा एक्साभेटर र एउटा टिप्पर बगाएको थियोॅ उहाँले भन्नुभयो– ‘सोही ठाउँमा रहेका थप एउटा एक्साभेटर र दुईओटा टिप्पर पनि राति करिब १० बजे त्रिशूली नदीमा आएको बाढीले बगाएको छ ।’

    नदीमा भीषण बाढी आएपछि दिउँसोदेखि नै आयोजनाको तीनओटा टिप्पर, दुईओटा एक्साभेटर नदीको बिचमा फसेको थियो । नदीको मध्यभागमा फसेको मेसिन निकाल्ने प्रयास गरिएको भए पनि नसकिएको उहाँको भनाइ छ । ब्लू इनर्जी कम्पनीले बुट्टारमा १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सोही आयोजना निर्माणमा प्रयोग भएका टिप्पर र एक्साभेटर नदीले बगाएको छ ।

    पाँचथरका अधिकांश सडक अवरुद्ध

    निरन्तरको वर्षाका कारण पाँचथरमा मुख्य तथा सहायक सडक अवरुद्ध भएका छन् । वर्षाका कारण उत्तरदक्षिण तमोर कोरिडोर सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत पाँचथर र धनकुटाको सीमामा पर्ने नाँवा खोलामा बाढी आएको छ ।

    बाढीका कारण यो सडकमा बिहीबार सवारीका साधन रोकिँदा यात्रुले सास्ती भोग्नु परेको थियो । शुक्रबार भने प्रहरीले उक्त सडक हुँदै सवारी नचलाउन सूचित गरेको छ । निर्माणाधीन यस सडकमा पर्ने खोलाहरूमाथि पुल बनिसकेका छैनन् । द्रूत मार्ग भएका कारण धेरै सवारीका साधनले यो सडक प्रयोग गर्ने गर्दछन् ।

    पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत याङवरक गाउँपालिका–२ स्थित मेवा खोलामा निर्माण गरिएको डाइभर्सनमा पानी सडकको तहमा आएपछि सडक अवरुद्ध भएको छ । सोही गाउँपालिका–३ रिजाल भिरमा समेत पहिरो झरेर यातायात अवरुद्ध भएपछि स्थानीयवासी, जनप्रतिनिधि तथा सडक कालोपत्रको काम गरिरहेका निर्माण व्यवसायीले सडक सञ्चालन गर्ने प्रयास जारी राखेका छन् । बाढीले गत वर्ष दोभानेस्थित सडक पुल तथा यस वर्ष याङवरक गाउँपालिका–३ ओयाममा तीनओटा सडक पुल बगाएपछि वर्षा हुनासाथ सडक अवरुद्ध हुने गरेको वडाध्यक्ष बिमल राईले बताउनुभयो ।

    यस्तै, भेडेटार–रबि–राँके सडकको गेलीभञ्ज्याङमा पहिरो झरेर सडक अवरुद्ध भएको छ । फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बेले अवरुद्ध सडक सञ्चालन गर्ने प्रयास भइरहेको बताउनुभयो । उक्त सडक सञ्चालन हुन नसकेकाले तत्कालका लागि वैकल्पिक सडक प्रयोगगरी यात्रा गर्न गाउँपालिकाले आग्रह गरेको छ । वैकल्पिक सडकहरू सञ्चालन रहेको पनि गाउँपालिका अध्यक्ष आङदेम्बेले बताउनुभयो ।

    यस्तै, बाढी आएपछि फालेलुङ गाउँपालिकाको केन्द्र थकेपुङ जोड्ने सडकको घुमाउने टारस्थित डाइभर्सनमा पानी सडकको सतहसम्म आएर सडक अवरुद्ध भएको छ । गत वर्ष बाढीले सडक पुल बगाएपछि यहाँ डाइभर्सनबाट सवारी आवागमन हुने गरेको छ । सवारीका साधनको अधिक चाप हुने मेची राजमार्ग भने हालसम्म सञ्चालन रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

    सर्लाहीको पूर्वी क्षेत्रमा विद्युत् सेवा अवरुद्ध

    लगातारको वर्षाका कारण पोल ढल्दा सर्लाहीको पूर्वी क्षेत्रमा विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यस्तै, जिल्लाको पश्चिमी क्षेत्रमा पनि आंशिक रूपमा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण मलङ्गवा वितरण केन्द्रले जनाएको छ ।

    जिल्ला सदरमुकाम मलङ्गवाभन्दा पूर्वी क्षेत्रमा पर्ने ब्रह्मपुरी, चन्द्रनगर, पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिकाको सबै वडामा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण मलङ्गवा वितरण केन्द्रका प्रमुख उमेशप्रसाद यादवले जानकारी दिनुभयो ।

    त्यस्तै, ईश्वरपुर नगरपालिका–१७ सुकनाहामा पनि विद्युत् सेवा अवरुद्ध भएको उहाँले बताउनुभयो ।

    ब्रह्मपुरी गाउँपालिको सखुअवामा वर्षाले ११ हजार भोल्टको पोल ढल्दा ब्रह्मपुरी गाउँपालिकाअन्तर्गत पर्ने साबिक ब्रह्मपुरी, नोकैल्वा, पडरिया, सखुअवा, चन्द्रनगर गाउँपालिकाअन्तर्गत पर्ने, बबरगञ्ज, पोखरिया, मोहनपुर, लोदवा, चन्द्रनगर, गढा टोल, नाढीमन, त्यस्तै, पर्सा गाउँपालिकाअन्तर्गत पर्ने, पर्सा, नारायणपुर, सङ्ग्रामपुर, जिङ्डवा, कविलासा, र हरिपुर्वा नगरपालिकाअन्तर्गत पर्ने हरिपुर्वा, धनकौल, वसन्तपुरलगायत क्षेत्रमा शुक्रबार राती ८ बजेदेखि पूर्ण रूपमा विद्युत् सेवा अवरुद्ध भएको केन्द्रका प्रमुख यादवले जानकारी दिनुभयो ।
    त्यस्तै, वर्षाले सर्किट सर्ट भई तथा पोल ढलेर ग्रामीण फिडरबाट आपूर्ति हुने जिल्लाको पश्चिम क्षेत्रमा पनि आंशिक रूपमा विद्युत् सेवा अवरुद्ध भएको उहाँले बताउनुभयो ।

    पोल ढलेको वा विद्युत्सम्बन्धी कुनै समस्या आएको खण्डमा नेपाल विद्युत् प्राधिकरण मलङ्गवा वितरण केन्द्रको फोन नम्बर ०४६–५२०१६३, मोबाइल नम्बर ९७४६६७७५१० साथै जिल्लाको पश्चिमी क्षेत्रमा विद्युत्सम्बन्धी कुनै समस्या आएको खण्डमा तत्कालै गडहिया सबस्टेसनको मोबाइल नम्बर ९७६५७०४८३६ मा जानकारी गराई सहयोग गरिदिनहुन कार्यालय प्रमुख यादवले सबैसँग अपिल गर्नुभएको छ ।

    बिहीबारदेखि लगातार भइरहेको वर्षाका कारण यहाँको जनजीवन कष्टकर बनेको छ ।

    बैतडी र दार्चुला विद्युत् अवरुद्ध

    सुदूरपश्चिम प्रदेशका पहाडी दुई जिल्ला बैतडी र दार्चुलामा विद्युत् सेवा अवरुद्ध भएको छ । शुक्रबार साँझदेखि दुई जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण, बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले जानकारी दिनुभयो ।

    लगातारको वर्षाका कारण बलाचदेखि स्याउले जोड्ने १३२ केभी प्रसारणको लाइनको तार टुटेर ३३ केभीमा परेकाले यहाँका दुई जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको हो । उहाँले भन्नुभयो, “१३२ केभी प्रसारणको लाइनको तार दार्चुलाको नाइलमा ३३ केभीमा खस्न गएर विद्युत् सेवा अवरुद्ध भएको छ ।”

    विद्युत् सेवा अवरुद्ध हुँदा बैतडी र दार्चुलाका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । अवरुद्ध लाइन सञ्चालनका लागि प्राविधिकको परिचालन गरिएको प्रमुख पौडेलले बताउनुभयो । दुई दिनदेखिको वर्षाले यहाँको जनजीवन प्रभावित भएको छ ।

    हेर्नुहोस् बाढीपहिरोको असर फोटामा

    मनोहराखोलमा आएको बाढीले शनिबार डुबानमा परेको कोटेश्वर, बालकुमारी पुल क्षेत्र । तस्बिर : किरणराज बिष्ट / रासस

    मनोहराखोलामा आएको बाढीले शनिबार डुबानमा परेको कोटेश्वर, बालकुमारी खोला आसपासको क्षेत्र । तस्बिर : किरणराज बिष्ट / रासस

    गोरुसिंगे-सन्धिखर्क सडक अन्तर्गत शितगङ्गा नगरपालिकाको ठाडामा पहिरोले अवरुद्ध भएको सडक । तस्बिरः प्रेमनारायण आचार्य / रासस

    नारायणी नदीमा आएको बाढीले किनारमा रहेको बुद्धको मूर्तिको आधा भाग डुबेको छ । नदीले चेतावनीको तह पार गरेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन चितवन प्रशासनले अनुरोध गरेको छ । तस्बिरः कृष्ण आचार्य /रासस

    पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा शनिबार बिहान खसेको पहिरो । पहिरोका कारण दमौली डुम्रे सडकखण्ड अवरुद्ध छ । तस्बिर ः कृष्ण न्यौपाने / रासस

    पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दमौली नजिक निरन्तर परेको पानीका कारण शनिबार बिहान भासिएको सडक । यस ठाउँमा ‘डाइभर्सन ‘निर्माणका लागि सडक खनिएका कारण सडक भासिएको हो । तस्बिर ः कृष्ण न्यौपाने / रासस

    ललितपुरको इमाडोल र भक्तपुरको बालकोटबीचको गोदावरी खोलामा शनिबार बिहान आएको बाढी डुबानमा परेको क्षेत्र । खोलामा जलसतह बढेपछि दुबैतर्फको बस्तीमा बाढीको पानी पसेपछि जनजीवन प्रभावित बनेको छ। तस्बिर सौजन्य : आदित्येन्द्र झा / रासस

    लगातारको बर्षासँगै नारायणी नदीमा आएको बाढी नवलपुरको गैडाकोट नगरपालिका २ मा रहेको बस्तीमा पसेपछि घरमा पालिएको कुकुरलाई सुरक्षित स्थानमा लैजाँदै स्थानीय । यहाँका दुई सय बढी घर डुबानमा परेका छन । तस्बिरः कृष्ण आचार्य / रासस

    धादिङको नीलकण्ठ नगरपालिका-८ मा पहिरोले अवरुद्ध बनेको धादिङबेसी-मलेखु सडकखण्ड । जिल्ला सदरमुकाम धादिङबेसीलाई पृथ्वीराजमार्गसँग जोड्ने मुख्य सडक पहिरोले दुइतर्फी अवरुद्ध बनेको छ । तस्बिर : शंकर श्रेष्ठ / रासस

    शनिबार, असोज १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.