काठमाडौँ । मङ्सिर १६ गते हुने उपनिर्वाचनको लागि आयोगबाट निर्वाचन कार्यक्रम स्वीकृत भएको छ ।
निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद सापकोटाद्वारा २०८१ असोज १० गते बिहीबार प्रेसविज्ञप्ति जारी गर्दै सो जानकारी दिइएको हो ।
उक्त कार्यक्रम अनुसार मङ्सिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने छ भने सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुने छ ।
उल्लिखित सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मङ्सिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने छ । सोही दिनको दिउँसो ३ बजेउप्रान्त मङ्सिर ४ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवम् निर्णय गरी मङ्सिर ४ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिने छ ।
मङ्सिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिने छ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजेदेखि ५ बजे सम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ ।
कार्यक्रमअनुसार मङ्सिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने छ र मतदान सुरु हुनुभन्दा ४८ घण्टाअगाडि अर्थात मङ्सिर १३ गते राति १२ बजेपछि प्रचारप्रसार निषेध अवधि लागु हुने छ ।
निर्वाचन आयोगले देशैभरिका विभिन्न जिल्लाका ३९ स्थानमा उपनिर्वाचन गराउन थालेको छ । यतिखेर जिल्ला समन्वय समिति प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, गाउँपालिका उपाध्यक्ष तीन, गाउँपालिकाका वडाअध्यक्ष नौ, नगरप्रमुख एक, नगर उपप्रमुख एक र नगरपालिकाका २१ स्थान रिक्त रहेको छ ।