काठमाडौँ । नेपाल पत्रकार महासङ्घले आगामी २०८१ असोज १९ गते राष्ट्रिय भेला गर्ने भएको छ ।
पटक पटक घोषणा गरिएको मितिमा निर्वाचन हुन नसकेपछि महासङ्घले राष्ट्रिय भेलाको आयोजना गरेको हो ।
महासचिव रोशन पुरीको हस्ताक्षमा असोज ९ गते बुधबार जारी प्रेसविज्ञप्तिमा सो जानकारी दिइएको छ ।
प्रेसविज्ञप्तिमा ५३ जिल्लाका अध्यक्षले विवाद समाधानका लागि राष्ट्रिय भेला माग गरेको सन्दर्भमा आजै सम्पन्न केन्द्रीय समिति, प्रदेश समितिका अध्यक्ष र जिल्ला अध्यक्ष सम्मिलित भौतिक र भर्चुअल बैठकले सो निर्णय गरेको जनाइएको छ ।
महासङ्घको विधानको धारा ३५ को उपधारा ७ अनुसार आयोजना गरिने सो भेलाको स्थान यथाशीघ्र जानकारी गराइने विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा विवाद समाधानमा सहजीकरण गर्न महासङ्घका पूर्व सभापति डा. सुरेश आचार्यको संयोजकत्वमा पूर्व सभापतिद्वय तारानाथ दाहाल, विष्णु निष्ठुरी तथा पूर्व अध्यक्षहरू धर्मेन्द्र झा, शिव गाउँले, डा. महेन्द्र विष्ट र गोविन्द आचार्यसित आग्रह गर्ने निर्णय गरेको बताइएको छ ।
त्यसैगरी, वक्तव्यमा अध्यक्ष विपुल पोखरेल र कार्यवाहक अध्यष रमेश विष्टको राजीनामा स्वीकार गरिएको उल्लेख छ ।
