काठमाडौं । नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैनिक अभ्यास आजदेखि सुरु भएको छ । संयुक्त अभ्यास काठमाडौँ, मकवानपुर र धादिङमा हुनेछ ।
अभ्यासका क्रममा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने विधि तथा प्रक्रियाका सम्बन्धमा ज्ञान आदानप्रदान हुने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
‘प्यासिफिक एन्जल २४’ नाम दिइएको संयुक्त अभ्यासका क्रममा खोज र उद्धार कार्य गर्न अमेरिकी वायुसेनाले विशेष रूपमा परिमार्जित गरेको विमान ‘एचसी–१३०जे कम्ब्याट किङ’बाट नेपाली सेनाले तालिम लिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।
‘सेप्टेम्बर १५ मा सुरु हुने प्यासिफिक एन्जल २४ अभ्यासको लागि तयारी गरिरहेका छन्। यो अभ्यास नेपाली सेना र अमेरिकी रक्षा मन्त्रालबीचको समन्वयलाई बढावा दिन र मानवीय सहायता र विपद् व्यवस्थापनमा उनीहरूको क्षमताहरू वृद्धि गर्न तयार गरिएको हो,’ दूतावासले भनेको छ, ‘अभ्यासको क्रममा टोलीहरूले एरोमेडिकल उद्धार, दुर्घटना उद्धार र संक्रामक रोग नियन्त्रण जस्ता महत्त्वपूर्ण सीपहरू सिक्ने छन्।’
यो विमानलाई अमेरिकी सेनाले खोज तथा उद्धार र लडाइँमा खोजका लागि प्रयोग गर्ने गरेको छ। प्रतिघण्टा ५३७ किलोमिटरको गतिमा कुद्ने यो विमानले एक पटक इन्धन भरेपछि ८ हजार ३ सय ३४ किलोमिटरको दुरी पार गर्न सक्छ।
प्यासिफिक एन्जल अमेरिकी सेनाले हिन्द–प्रशान्त क्षेत्रका देशहरुमा नियमित रुपमा संचालन गर्दै आएको सैन्य अभ्यास हो। यसको उदेश्य मानवीय सहायता र विपद् व्यवस्थापनमा क्षमता बढाउनु रहेको अमेरिकी सेनाको भनाइ छ।
‘प्यासिफिक एन्जल २४’ अघिल्लो महिनादेखि सुरू भएको हो। हालसम्म पपुवान्युगेनी र भियतनाममा यो अभ्यास भइसकेको छ।
नेपालमा सन् २०१२ देखि यो सैन्य अभ्यास नियमितरुपमा हुँदै आएको छ। अभ्यास असोज ४ गतेसम्म चल्ने छ।