जमुना शर्मा ##
दैलामुनि डाली बसी न्याउली चरी करायो
देशविदेशका घटनाले मनै डरायो
हत्याहिंसा, अपराध, बलात्कारका खबर
समाचार सुन्दाखेरि छाती चरर
कहाँ होला सुरक्षा हाम्रा छोरीचेलीलाई
डरैडरले बाँच्नुपर्ने हामी बरिलै
एकातिर समाजमा पितृसत्ता हावी छ
पुरुषको नारीमाथि अझै दावी छ
अवला र बेसहारा महिलालाई हेपेर
कुविचार राख्दछन् एक्लो देखेर
अझै पनि रूढिवादी संस्कारलाई पालेर
मलमूत्र खुवाउँछन् बोक्सी भनेर
छोरी हो सृष्टिजगत् भ्रुणहत्या गर्दै छन्
संसार देख्न नपाउँदै पेटमै मर्दै छन्
छैन भर वरपर आफ्नै आफन्तको
मौका हेर्छन् नरपिचासले आमा नभाको
फक्रिन नपाउँदै कोपिलामै चुँडेर
मानवरूपी दानवसँग लड्दै बढेर
बल्लतल्ल गरेर छोरीहरू बढाई
दुःखसुख गरेर अब्व्ल पढाइ
सङ्घर्ष र बलिदानले स्वाभिमानी जगत्
अनाहकमा बग्यो चेली तिम्रो रगत
मानवता हराएको भारत सहर कलकत्ता
अस्पतालको भित्रै डाक्टर भइन् बेपत्ता
अमेरिकी पिआरसँग पुगेकी नर्स ममता
सास नि छैन लास नि छैन कठै बिचरा
बाबाआमा बेहोस छन् छोरीको वियोगमा
दुधे बच्चा टुहुरी भइन् त खेलमा
हरेक नारीहरू अब सतर्क भइदेऊ
सहेर नबसिदेउ धावा बोलिदेऊ
परिचित होऊ युगका विरङ्गना भनेर
हिंसाको विरोध गर काली बनेर
इज्जत जान्छ भनेर नबनिदेऊ अबला
अन्याय र अत्याचारमा बोल हमला
नारीपुरुष बराबर चराचर जगत्मा
रातै हुन्छ भेद छैन सबको रगतमा
विरोध गर हिंसाको चर्को डाँको छोडेर
नरभक्षी भाग्ने छन् डाँडो काटेर
अन्यायमा परेकालाई मिलोस् न्यायनिसाफ
साहसी नारी हामी गर उद्घोष

