दिनेश रैदास, दाङ ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले देशमा केही हुँदैन भन्ने भावनाले युवा पलायन बढिरहेको बताउनुभएको छ ।
अखिल नेपाल युवक संघ घोराही उपमहानगर समिति, दाङले आयोजना गरेको ‘युवा पलायन र निराशा’ विषयको प्रशिक्षणलाई सम्बोधन गर्दै उपाध्यक्ष शर्माले सो कुरा बताउनु भएको हो ।
युवाहरूको विदेश पलायन र देशमा केही हुँदैन भन्ने निराशाको भावनाले मुलुक झन् पछि झन् कमजोर हुँदै गएको उहाँले बताउनुभयो ।

कार्यक्रममा राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले उत्पादक शक्तिको विदेश पलायनले सामाजिक, आर्थिक समस्या अझै विकराल भएको बताउनु भयो।
सरकारले युवाहरूलाई उद्यमी र स्वरोजगार बनाउन सके मात्र युवा शक्तिको विदेशिने मोह न्यूनीकरण गर्न सकिने उहाँको भनाई थियो ।
सरकार सञ्चालकहरूको दाब्बु र गैर जिम्मेवार प्रवृतिको शिकार युवा हुनु परेको भन्दै युवाहरूलाई संगठित हुन आह्वान गर्नु भयो।
त्यसैगरी अखिल नेपाल जनजाति सम्मेलनका पूर्व केन्द्रीय सदस्य रामबहादुर जिएमले कुनै पनि आन्दोलन र परिवर्तन युवाबिना सम्भव नहुने भन्दै ८३ प्रतिशत युवा अहिले देशमा नहुनु देशको उत्पादनशीलताका लागि भयावह स्थिति हो भन्नुभयो ।

प्रशिक्षण दिँदै लेनिन स्मृति सतावार्षिकी दाङका संयोजक प्रमोद धितालले हाम्रो सामन्ती संस्कृति, परम्परा र प्रचलन नै देश छोड्ने र भाग्यवादलाई सम्पूर्ण कुरा सुम्पेर निराश बन्ने खालको रहेको बताउनु भयो । उहाँले सांस्कृतिक रूपमा हुने पलायन र निराशाको समग्र पक्षको प्रकाश पार्नु भएको थियो।

त्यसैगरी राजमो जिल्ला सदस्य मेघराज भट्टराईले वैदेशिक रोजगार सुरक्षित नरहेको बताउनु भयो। भट्टराईले थप्नुभयो, ‘विदेशमा नेपालीहरूलाई अपहेलित र घृणित दृष्टिकोणले हेर्छन्।’
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियान घोराही नगर अध्यक्ष झविन्द्र खनाल, राजमो घोराही नगर अध्यक्ष मनिराम खनाल, अखिल (छैठौं) दाङका सहसंयोजक सेवक भट्टराई, अखिल नेपाल ट्रेड युनियन दाङका सचिव तुलसीराम पन्थी लगायतको अथितित्यता रहेको थियो।
अखिल नेपाल युवक संघ घोराही उपमहानगर समितिका अध्यक्ष श्रीराम भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष महेश आचार्य र सञ्चालन सचिव दिपक केसीले गर्नुभएको थियो ।