भरतमणि न्यौपाने
नवराज सुवेदी अर्थात् २०५६ सालका प्युठान क्षेत्र नम्बर २ का राष्ट्रिय जनमोर्चाको तर्फबाट सांसद । कुनै बेला प्युठानमा नवराज सुवेदीको व्यापक चर्चा, परिचर्चा हुन्थ्यो । कमरेड मोहनविक्रम सिंह र चित्रबहादुर केसी पछि त्यतिबेला नवराज सुवेदीकै नाम धेरै सुनिन्थ्यो ।
त्यस प्रकारको चर्चाको पछाडी निश्चित रुपले राष्ट्रिय जनमोर्चाले लिएको नीति, विचार र कार्यक्रम नै थियो । पार्टीको नेतृत्वदायी भूमिका र जनताको निर्वाचित जनप्रतिनिधिको हिसावले पनि त्यो उचाई नवराज सुवेदीलाई प्राप्त भएको थियो । तत्कालीन समयमा जनताले पार्टीमा र पार्टीले नवराज सुवेदीमाथी ठूलो विश्वास गरेको थियो ।
त्यसैले उनले प्युठानवाट दुई दुई पटकसम्म सांसद बन्ने अवसर प्राप्त गरे । त्यसका साथै उनी राष्ट्रिय जनमोर्चाको केन्द्रीय महासचिव सम्म भए । एक प्रकारले भन्ने हो भने पार्टीले दिने जिम्मा र सुविधाको क्षेत्र जति थियो त्यो उनलाई प्राप्त भएको थियो ।
त्यो कालमा प्युठानको विकास र निर्माणमा कयौं महत्त्वपूर्ण कामहरु समेत सम्पादन भएका थिए । पार्टीको निर्देशन, नवराज सुवेदीको नेतृत्व र बोम बहादुर खत्री सहितका साथीहरुको महत्त्वपूर्ण सहयोगले त्यो सफलता प्राप्त भयो । वास्तवमा कुनै पनि नेताको सफलताको पछाडी पार्टी र पार्टीले लिने विचारले नै महत्त्वपूर्ण भूमिका निर्बाह गर्दछ । कुनै व्यक्तिले चाहेर मात्र उसको नेतृत्व सफल हुन सक्दैन ।
नवराज सुवेदीले त्यो समयमा उपयुक्त पार्टी, सहि नीति, सिद्दान्त र व्यबहारले निर्देशित गरेका कारणले त्यो उचाइ प्राप्त गर्न सम्भव भएको थियो । यसरी नवराज सुवेदी पार्टीले अवलम्बन गरेको माक्सवाद, लेलिनवाद, माओविचारधारावाट निर्देशित थिए ।
२०६० साल तिर नारायण काजी नेतृत्वको एकताकेन्द्रसँग नेकपा (मसाल)को पार्टी एकता भयो । लामो छलफल र बहस पछि त्यो एकता भएको थियो । तर केही महिना पनि नपुग्दै पार्टी भित्र कयौं गम्भीर प्रकारका मतभेदहरु देखापरे । वास्तवमा त्यो नियोजित र षड्यन्त्रपूर्वक गरिएको एकता थियो । नारायणकाजीहरु प्रचण्डबाट परिचालित थिए र उनकै निर्देशनमा नारायणकाजिले पार्टी फुटालेर मसाल सिध्याउने योजनामा एकता गरेका रहेछन् ।
पछि त्यो कुरा प्रमाणित भयो । त्यतिन्जेल नवराज सुवेदी जनमोर्चामा नै थिए । तर ती खराब विचारहरुको प्रभावबाट उनी जोगिन सकेनन् । अन्ततः नेकपा (मसाल) छाडे र एकताकेन्द्र तिर लागे । यो कुराले प्युठानी जनता आश्चर्यचकित भए ।
नारायणकाजीले आफ्नो समूह लगेर तत्कालीन प्रचण्डको माओवादीमा बिलय गरे । नवराज सुवेदी रिजर्ब बसे । त्यस्तै बिचलित अर्का नेता रामसिँह श्रीष केही समय नवराजसँगै बसे तर त्यो एकता पनि विचारबाट च्युत भैसकेको थियो । त्यहाँ पनि उनी टिक्न सकेनन् ।
अन्ततः उनी पनि प्रचण्डकै पार्टीमा बिलय भए । त्यो पार्टी अहिले नामको कम्युनिस्ट भएपनि पुर्णरुपले दक्षिणपन्थी संशोधनवादी, दलाल पुँजीपतिको पार्टी बनिसकेको छ । उनी संविधान निर्माण होउन्जेल त्यही पार्टीमा सामेल भए । त्यहाँ उनले बाबुरामको गुट समाते र नेता हुने प्रयास गरे ।
त्यो विचमा उनी प्युठानबाट पटक पटक चुनाव लडे तर विजयी हुने कुरा भएन । संविधान जारी भएपछि बाबुरामले कम्युनिस्ट विचार र आदर्शको कुनै औचित्य नभएको भन्दै माओवादी परित्याग गरे र नयाँ शक्ति नामको विचार र दृष्टिकोण बिहीन एउटा समूह खोले । अब नवराज सुवेदी त्यही समुहमा प्रवेश गरे र त्यसकै नेता भए ।
नवराज सुवेदीको इतिहास त्यतिमा मात्रै सिमित भएन । त्यो अझ बढी पतन हुँदै गयो । संघीय समाजवादी फोरम जस्तो एउटा चरम प्रकारको क्षत्रीयतावादी पार्टी र त्यसका नेता उपेन्द्र यादवसँग नयाँ शक्तिको एकता भयो । फोरमका अध्यक्ष उपेन्द्र यादव चरम क्षेत्रीयतावादी विखण्डनकारी नेता हुन् । उनी मधेसको नाम बेचेर, भारतवाट परिचालित भइ नेपालमा राजनीति गरिरहेका मान्छे हुन् ।
उनको प्रमुख काम तराइलाई नेपालबाट अलग गर्नु र भारतमा विलय गराउनु हो । नवराज सुवेदी जो जनताले निर्वाचित गरेको संविधानसभाले जनताको लागि संविधान लेख्नुपर्छ भनेर लडेका मान्छे हुन् आज उनी तिनै उपेन्द्र यादव जस्ले नेपालले आफ्नो संविधान जारी गर्दा भारतसँग मिलेर नेपालमा नाकावन्दी लगाए, सीमा पारि बसेर नेपाल तिर ढुंगा हाने, उनैसँग मिलेर एउटै पार्टीको निर्माण गरे ।
वास्तवमा एउटा राजनैतिक मान्छे विचारवाट च्युत भएपछी कहाँ पुग्छ भन्ने कुराको उदाहरण नवराज सुवेदी हुन् । उनी भित्रको समाज परिवर्तनको क्रान्तिकारी चेत आज चरम प्रकारको जातिवाद, क्षत्रीयतावाद र अवसरवादमा परिणत भएको छ । एउटा जनप्रिय नेता जसले राष्ट्रको लागि हित हुने विचार बोक्थ्यो, परिवर्तनका किरणहरु जनताको बिचमा छर्न सक्थ्यो, संसदको रोस्टममा उभिएर राष्ट्र र राष्ट्रियताको कुरा गर्थ्यो त्यो नेता मन्त्रीको लोभमा सम्पुर्ण रुपले बिसर्जन भएर गयो ।
झन् पछि झन् क्रान्तिकारी विचार र दर्शनबाट समाप्त भएर देश बेच्ने लाइसेन्स लिएर बसेका दलालहरुको समुहमा पुग्यो । अब पूर्व कमरेड नवराज सुवेदीलाई ‘राम राम’ भन्नु भन्दा अरु बाँकी के नै गर्न सकिन्छ र ?