काठमाडौं । पाँचथरमा ग्रिनेट विस्फोट हुँदा एकैघरका दुईजना बालबालिकाको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्।
फालेलुङ गाउँपालिका वडा नम्बर–५ डाँडागाउँका आइतराज केरुङको घरमा बिहीबार दिउँसो ग्रिनेट विस्फोट हुँदा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
पाँचथरका डीएसपी हेमन्त भण्डारीका अनुसार मृतक बालबालिका एकै घरका हुन् भने अर्को घरका दुईजना बालबालिका घाइते छन्। उनीहरुको उपचार भइरहेको छ।
सोही ठाउँका दिलिप साँवाका २ वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिपशनको विस्फोटमा परेर मृत्यु भएको हो। विस्फोटमा परेर गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि झापाको बीएण्डसीअस्पताल लैजाँदै गर्दा गएराति बाटोमै मृत्यु भएको डीएपी भण्डारीले जानकारी दिए।
घाइते बालबालिकालाई जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछि थप उपचारको लागि राति बीएण्डसी अस्पताल लगिएको थियो।
विस्फोटमा परेर स्थानीय ज्ञानबहादुर राईका छोरा ११ वर्षीय पवन राई र ७ वर्षीय दिपशन राई घाइते छन्। घाइतेमध्ये पवनको जिल्ला अस्पताल फिदिममा उपचार भइरहेको छ। दिपशनको स्थानीय स्वास्थ्य चौकीमै उपचार गरिएको छ। उनीहरु खतरा मुक्त छन्।
घटनास्थलमा नेपाली सेना गएको छ । ग्रिनेट कसले र कहिले राख्यो भन्ने खुल्न बाँकी छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।