गलकोट (बागलुङ) । राष्ट्रिय जनमोर्चा गल्कोट पालिका समितिले नगरपालिकामा २० बुँदे ज्ञापनपत्र बुझाएको छ ।
केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना नेतृत्वको प्रतिनिधिमण्डलले २०८१ भदौ १३ गते बिहीबारका दिन नगरप्रमुख भरत गैरे र प्रमुख प्रशासकीय अधिकृत थमनसिंह गौतमलाई भेटी सो ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका साथै गणतन्त्र, लोकतन्त्र र धर्मनिरपेक्षताको रक्षा तथा सङ्घीयताको खारेजीमा जोड दिइएको छ ।
त्यस्तै, भ्रष्टाचार, सहकारी क्षेत्रलगायत विभिन्न क्षेत्रमा फैलिएका अनियमितता, बेथिति, मौसमजन्य विकृति जस्ता विषय समेटिएको छ ।
ज्ञापनपत्रमा बागलुङसित सम्बन्धित बुँदा नं. १३ मा मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–घोडाबाधे सडक खण्डको रोकिएको काम सुचारु गर्नुपर्ने, बुँदा नं. १४ मा उत्तरगङ्गा जलविद्युत् आयोजनाको काम अगाडि बढाइनुपर्ने, बुँदा नं. १९ मा गल्कोट वडा नं. ३ पेट्रोलपम्पसम्मको मोटरबाटो चार लाइनमा विस्तार तथा स्तरोन्नति र बजार क्षेत्रको व्यवस्थापन जस्ता विषय उठान गरिएको छ ।
त्यसैगरी ज्ञापनमा गल्कोट नगरपालिकाले गर्नुपर्ने अन्य विविध विषय पनि उठाइएको छ ।
प्रतिनिधिमण्डलमा राजमो केन्द्रीय सदस्य वेदिलाल सापकोटा, राजमो जिल्ला सल्लाहकार तथा गल्कोटका अध्यक्ष टङ्क केसी, राजमो जिल्ला
सदस्य तथा नगर उपाध्यक्ष लालबहादुर राना, जिल्ला सदस्य तथा नगर सचिव पदम श्रेष्ठ, जिल्ला सदस्य चन्द्रमोहन श्रेष्ठ र राजमो सदस्य तुककुमारी श्रेष्ठमो पनि सहभागिता रहेको थियो ।

