हेम बिजी ##
सरकारी कार्यालयबाटै भ्रष्टाचारसम्बन्धी फाइलहरू गायब हुदै गएपछि भ्रष्टाचार प्रमाण समिति हैरान भयो । भ्रष्टाचारसम्बन्धी कागजात फेला पार्न नसकेपछि भ्रष्टाचार प्रमाण समितिले भ्रष्टाचार पत्ता लगाउने मेसिन बनाइदिन वैज्ञानिकलाई अनुरोध गर्यो ।
लामो अनुसन्धानपछि वैज्ञानिकले एउटा यस्तो स्वचालित यान्त्रिक ऐना आविष्कार गरे कि उक्त ऐनामा हेरेपछि भ्रष्टाचारी मान्छेको अनुहार कालो देखिने वैज्ञानिकले बताए । साथै उक्त ऐना यसरी आविष्कार गरिएको थियो कि दिन र समय निश्चित गरिएको थियो र अन्य दिन ऐनाले काम नगर्ने वैज्ञानिकको दावी थियो ।
भ्रष्टाचार प्रमाण समितिले भ्रष्टाचारी पत्ता लगाउने ऐना सार्वजनिक गर्दासाथ देशभरिका जनता खुसी भए । वडाअध्यक्षदेखि सांसद्, मन्त्री र सरकारी पदमा रहेका सबैले ऐनामा अनुहार देखाउनुपर्ने र नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्नुपर्ने जनताको चर्को माग उठेपछि भ्रष्टाचार प्रमाण समितिले वैज्ञानिकले तोकेको दिन र समयमा सरकारी कार्यालयभित्र ऐना राख्ने निर्णय गर्यो र सांसद, मन्त्रीसहित उच्च सरकारी पदमा रहेका सबैले ऐना हेर्नुपर्ने व्यवस्था मिलायो ।
वैज्ञानिकले निश्चित गरेको दिन र समयमा भ्रष्टाचारीको अनुहार हेर्न सरकारी कार्यालयअगाडि लाखौँ जनताको भिड लागेको थियो भने भ्रष्टाचार प्रमाण समिति पनि भ्रष्टाचारी व्यक्ति प्रमाणित हुनेमा विश्वस्त थियो तर सांसद, मन्त्री र उच्च सरकारी पदमा रहेका व्यक्तिमा भने धेरै दिनअघि देखि खलबल मच्चिएको समाचार आइरहेका थिए ।
जब भ्रष्टाचारी प्रमाणित बनाउने ऐनामा अनुहार देखाउन पाँच मिनेट मात्र समय बाँकी थियो, तब नेपाल सरकारको विशेष जरुरी सुचना भन्दै रेडियो नेपालले समाचार फुक्यो– “आज बिहानै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यो निर्णय गरेको छ कि भ्रष्टाचारी पत्ता लगाउने ऐना आविष्कार गरेको वैज्ञानिकको सम्मानमा आज एक दिन सरकारी बिदा दिइएको छ । आज देशभरका कुनै पनि सरकारी कार्यालय खुल्ने छैनन् र कुनै पनि कामकाज हुने छैनन् ।”
वैज्ञानिक सम्मानको नाममा सरकारको यो छलकपट निर्णय सुनेपछि सरकारी कार्यालय अगाडि जम्मा भएको जनताको भिड आक्रोशित बन्यो । “भ्रष्टाचारी अनुहार ऐनामा जोड, होइन भने सत्ता छोड झ्” भन्ने नारा लगाउँदै लाखौँ जनताको भिड तत्काल भ्रष्टाचार विरुद्धको आन्दोलनमा परिणत भयो । भ्रष्टाचारी पत्ता लगाउने ऐना त्यसै दिन काम नलाग्ने निकम्मा भयो ।

