काठमाडौं । रुसी सेनामा भर्ती भएकामध्ये ६१ नेपाली युवाले ज्यान गुमाएका छन् ।
रुस–युक्रेन युद्धमा हालसम्म ३९ जना नेपालीहरू मारिएको आधिकारिक रूपमा पुष्टि भइसकेको छ।
पछिल्लो समय रुसले मस्कोस्थित नेपाली राजदूतावासलाई युक्रेनसँगको युद्धमा मारिएका थप २२ नेपालीको डीएनए परीक्षण भइरहेको जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यद्यपी उनीहरू नेपाली नै हुन् भन्ने पुष्टी भइसकेको छैन ।
डीएनए परीक्षणबाट पुष्टि भएपछि रुसले यससम्बन्धी जानकारी नेपाली पक्षलाई दिने गर्छ। त्यसपछि उनीहरूको मृत्यु भइसकेको आधिकारिक जानकारी सार्वजनिक गरिन्छ।
आधिकारिक जानकारीका साथ रुसी पक्षले मृतकहरूको क्षतिपूर्ति लगायतको प्रक्रिया सुरु गर्छ।
अहिले डीएनए परीक्षण हुँदै गरेका सैनिकहरू सबै नेपाली रहेको पुष्टि भए रुस–युक्रेन युद्धमा मारिने नेपालीहरूको संख्या ६१ पुग्नेछ।
मृत्युको आधिकारिक पुष्टि भएका ३९ नेपालीबाहेक ६ जना नेपालीहरू युक्रेनको कब्जामा छन्।
१ सय ७० जना फिर्ता
हालसम्म १ सय ७० जना नेपालीहरू रुसी सेनाबाट स्वदेश फिर्ता भइसकेका छन् र केही नेपालीहरू फिर्ता हुने प्रक्रियामा छन्।
परराष्ट्र मन्त्रालयका अनुसार यो संख्या मस्कोस्थित नेपाली राजदूतावासबाट आवश्यक कागजात बनाएर फिर्ता हुनेहरूको आधिकारिक तथ्यांक हो।
रुसी सेनामा भर्ती भई स्वदेश फर्कन इच्छुक अधिकांश नेपालीहरू आगामी कातिक–मंसिरभित्र नेपाल आइपुग्ने भएका छन्।
यसैबीच रुसको नागरिकता लिएका कैयौँ नेपालीलाई स्वदेश फर्काउन कठिनाइ भइरहेको परराष्ट्र स्रोतले जनाएको छ ।
स्रोतका भनाइमा रुसी नागरिकता नलिएका र फर्कन चाहने सबैजसो नेपालीहरू अक्टोबर–नोभेम्बरसम्म नेपाल फर्किसकेका हुनेछन्।