काठमाडौँ । आज बिहीबार कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना देखा परेको छ ।
देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशामा अवस्थित रहेकाले यो स्थिति देखा परेको हो ।
विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।
देशभर आंशिकदेखि साधारणतया बदली रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जानकारी दिएको छ ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।