पोखरा । कास्कीको पोखरामा अखिल नेपाल जनजाति सम्मेलनले तिसौँ विश्व आदिवासी दिवस मनाइएको छ ।
जनजाति सम्मेलनका पूर्व केन्द्रीय उपाध्यक्ष केबी थापाको प्रमुख आतिथ्यमा २०८१ साउन २६ गते सो कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा सम्बोधन गर्दै प्रमुख अतिथि थापाले विश्वका आदिवासीका लागि आदिवासी दिवस हक, हित र अधिकारप्राप्तिका लागि सम्झिनुपर्ने दिन भएको बताउनुभयो ।
नेपालमा र विश्वका आदिवासी अहिले पनि पिछडिएको बताउँदै उहाँले विश्व आदिवासी दिवस मनाउनुको अर्थ थप अधिकारका लागि सङ्घर्ष गर्नु रहेको स्पष्ट पार्नुभयो ।’नेपालमा आदिवासीका लागि पहिलेभन्दा महत्त्वपूर्ण व्यवस्था भएको भए पनि अझै उनीहरू मूल धारमा आउन सकेका छैनन्’ उहाँले भन्नुभयो ।
सम्बोधनको क्रममा उहाँले अखिल नेपाल जनजाति सम्मेलनले नेपालका आदिवासी जनजातिको पक्षमा काम गरिरहेको दावीसमेत गर्नुभयो ।
जनजाति सम्मेलन कास्की आयोजक रहेको सो कार्यक्रमको विशिष्ट अतिथि राजमो केन्द्रीय सल्लाहकार तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापा हुनुहुन्थ्यो ।

कार्यक्रममा अखिल नेपाल महिला सङ्घकी उपाध्यक्ष लक्ष्मी बासकोटा, राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी र जातीय समता समाज कास्कीका अध्यक्ष विष्णु विकले पनि सम्बोधन गर्नुभएको थियो ।
सो अवसरमा राजमो केन्द्रीय सदस्यहरू डिलबहादुर दर्जी, वेदिलाल सापकोटा र लीलादेवी शर्मा, राजमो गण्डकी प्रदेश समितिका अध्यक्ष शङ्कर बराल, प्रदेश उपाध्यक्ष धर्म कुँवर, प्रदेश सदस्य भागिरथ भट्टराई, राजमो कास्कीका अध्यक्ष रविमोहन ढकाल, राजमो बागलुङका अध्यक्ष तिलक थापा, अखिल नेपाल युवक सङ्घ बागलुङका अध्यक्ष वीरेन्द्र थापा र राजमो बागलुङका सदस्य खडक विकको पनि आतिथ्य रहेको थियो ।
नामबहादुर बाठाको सञ्चालन तथा डम्मर थापाको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्नन भएको थियो ।