काठमाडौं । ब्रजिलको साउ पाउलो राज्यमा एउटा विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु भएको छ।
दक्षिणी राज्य पारानाको कास्काभेलबाट साउ पाउलो सहरको ग्वारुल्यूस विमानस्थलतर्फ जाँदै गर्दा भिन्हेदो सहरमा उक्त विमान खसेको भोल्पेस एअरलाइन्सले जनाएको छ।
सामाजिक सञ्जालमा शेअर गरिएका भिडिओ फुटेजहरूमा उक्त विमान तलतिर ठाडो परेर खसेको देखिएको छ। त्यसरी खस्दा उक्त विमान फनफन घुमिरहेको ती भिडिओहरूमा देखाइएको छ।
एटीआर ७२–५०० विमानमा कुल ५७ यात्रु र चार जना चालक दलका सदस्य थिए। स्थानीय अधिकारीहरूले दुर्घटनामा कोही बच्न सफल नभएको बताएका छन्।
उक्त विमान आवासीय क्षेत्रमा दुर्घटना भएको भए पनि स्थानीयवासी कोही पनि घाइते नभएको अधिकारीहरूले बताएका छन्।
त्यहाँको एउटा घरमा भने क्षति पुगेको छ।भिडिओहरूमा उक्त घर भत्किएको र सो क्षेत्रमा आगो लागेको देखिन्छ।
घटनास्थलमा प्रहरी र अग्निनियन्त्रकहरू पुगेका छन्।
बीबीसीका अनुसार सन् २००७ पछि यो ब्रजिलमा भएको सबैभन्दा घातक विमान दुर्घटना हो।
सन् २००७ मा त्यहाँ टीएएम एक्सप्रेस विमान साउ पाउलोको कन्गोन्हास विमानस्थलमा दुर्घटना हुँदा १९९ जनाको मृत्यु भएको थियो।