काठमाडौँ । बागलुङको बडिगाड गाउँपालिका–९ र १० मा गएको पहिरोमा परी आठ जनाले ज्यान गुमाएका छन् । दर्लिङखोलामा पहिरोले वडा नम्बर ९ मा एउटा र १० स्थित आरुपाटामा तीनओटा घर पुरिएका थिए ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीका अनुसार दुईओटा वडामा गरेर अहिलेसम्म आठ जनाका शव फेला परेका छन् ।
मृत्यु हुनेमा बडिगाड गाउँपालिका–९ मा १५ वर्षीय विधान परियार र २४ वर्षीय गङ्गा बस्नेत छन् ।
त्यस्तै, वडा नं. १० मा ७ वर्षका जुम्ल्याहा मालती बुढा र मधु बुढा, १३ वर्षका मनोज बुढा र १२ वर्षका अमन बुढा, सञ्जु विककी ६ वर्षीया छोरी, ५९ वर्षीया मैतीदेवी विकको मृत्यु भएको छ ।
पहिरोमा परी चार जना घाइते भएका छन् । पुरिएका चार जनाको जीवितै उद्धार गरिएको छ ।
घाइते हुनेहरूमा ४६ वर्षीया सङ्गीता बुढा, ५९ वर्षीया सुमित्रा विक, ३२ वर्षकी सीता थापा र ४२ वर्षीय मङ्गलसिंह बुढा घाइते छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।
घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गर्न लागिएको प्रजिअ सुवेदीले जानकारी दिए ।