बुटवल । अखिल नेपाल जनजाति सम्मेलनका पूर्व केन्द्रीय सदस्य रामबहादुर पुनको प्रथम स्मृतिदिवस सम्पन्न भएको छ ।
२०८१ साउन २१ गते सोमबारका दिन रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाअन्तर्गत पर्ने मङ्गलापुरस्थित उहाँकै निवासस्थानमा सो कार्यक्रम सम्पन्न भएको हो ।
स्मृतिशेष पुनका जीवनसँगिनी लालमती पुनको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रमको प्रमुख अतिथि सम्मेलनका केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकी हुनुहुन्थ्यो ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय अध्यक्ष गिरीप्रसाद बुढा, जनजाति सम्मेलनकी केन्द्रीय सचिव उषा पुन, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सदस्य रुकबहादुर पराजुली, नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता लालचन्द पन्थ, जनजाति सम्मेलन रुपन्देहीका अध्यक्ष नारायण पुन, राष्ट्रिय जनमोर्चा रुपन्देहीका जिल्ला सदस्य शिवराम घिमिरे, राजमो तिलोत्तमाका नगर अध्यक्ष हर्कबहादुर टण्डन, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) रुपन्देहीका अध्यक्ष कविराज गिरी, जातीय समता समाज रुपन्देहीका जिल्ला कोषाध्यक्ष यमबहादुर परियार, राजमो तिलोत्तमाका कोषध्यक्ष विमल श्रीसलगायतको आतिथ्य रहेको थियो ।

स्मृतिशेष पुनको सम्झनामा एक मिनेट मौनधारण तथा उहाँको तस्बिरमा पुष्पार्पणपश्चात मन्तव्यको कार्यक्रमलाई अगाडि बढाइएको थियो ।
सो क्रममा प्रमुख अतिथि बुढाथोकीले स्मृतिशेष पुनको योगदानको चर्चा गर्दै उहाँको मृत्यु ओजपूर्ण रहेको बताउनुभयो ।
उहाँको मृत्युले पार्टीसङ्गठनलाई अपुरणीय क्षति पुगेको बताउँदै उहाँले हामी जीवित कार्यकर्ताहरूले उहाँको अधुरो सपना साकार पार्नको लागि सदैव अग्रसर रहनुपर्ने विचार व्यक्त गर्नुभयो ।
त्यसैगरी रक्तिमका अध्यक्ष बुढाले श्रद्धाञ्जली मन्तब्यसँगै रामबहादुर पुनको सम्झनामा शोककविता वाचन गर्नुभएको थियो ।
स्मृतिदिवसमा उपस्थित अन्य अतिथिहरूले पनि मन्तब्य मार्फत मृतक रामबहादुर बुढाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
जनजाति सम्मेलन रुपन्देही जिल्ला समितिद्वारा आयोजित सो कार्यक्रमको सञ्चालन सम्मेलनकै नगेन्द्रराज श्रीनेतले गर्नुभएको थियो ।
