काठमाडौँ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा सन्दुक रुइत आँखा उपचारका क्षेत्रमा पुर्याउनुभएको विशिष्ट योदानको कदर गर्दै अभिनन्दन गरेको छ ।
सभामुख देवराज घिमिरेले २०८१ साउन १९ गते शनिबार आयोजित समारोहमा उहाँलाई अभिनन्दन गर्नुभयो ।
ताप्लेजुङ ओलाङचुङगोलामा जन्मेर विश्वस्तरीय आँखा अस्पतालको विकास र बिरामीको उपचार गरी नेपाललाई आँखा उपचारसम्बन्धी संसारकै शैक्षिक हबको रूपमा विकास गर्न उहाँ सफल हुनुभएको छ ।
न्यून मूल्यमा विश्वस्तरीय लेन्स उत्पादन गरी मोतिबिन्दुको शल्याक्रियामा सरलीकरण गर्दै सीमान्तकृत व्यक्तिका लागि ‘दृष्टिका देवता’ को रूपमा डा रुइत चिनिनुभएको अभिनन्दनपत्रमा उल्लेख छ ।
डा रुइतले यसअघि एसियाको सबैभन्दा ठुलो रोमन म्यागसेसे पुरस्कार’ बहराइन सरकारबाट प्रदान गरिएको ‘इसा अवार्ड’, भारत सरकारबाट पद्मश्री पदकका साथै विभिन्न मुलुकबाट पुरस्कार र सम्मान पाइसक्नुभएको छ ।
कार्यक्रममा सभामुख देवराज घिमिरे, नेकपा (एमाले) का सचिव एवम् पूर्वमन्त्री योगेश भट्टराई, प्राडा सुरेन्द्र केसी र सरोकार केन्द्रका अध्यक्ष टङ्क श्रेष्ठले मन्तव्य राख्नुभएको थियो ।
सम्मानित व्यक्तित्व डा रुइतले कञ्जनजङ्घा हिमाल क्षेत्रको सदुपयोग गरी राष्ट्रले लाभ लिने र तमोर करिडोर सडक निर्माणलाई छिटो सम्पन्न गर्ने कार्यमा ध्यान पुर्याउन सरकार, संसद् र राजनीतिक दललाई सुझाव दिनुभयो ।