धनगढी । धनगढी उपमहानगरपालिकाले विवादित चर्च भवन भत्काएको छ ।
अस्पताल खोल्ने भनेर बनाएको भवनमा चर्चसहित क्रिस्चियन धर्म प्रचार गरेको पाइएपछि उपमहानगरले मंगलबार भत्काएको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका ७, मनेहरामा अस्पतालका नाममा चर्च सञ्चालन गर्ने गरी अवैध रुपमा बनाइएका संरचनामा उपमहानगरले डोजर लगाएको छ ।
साथै, धर्म प्रचारक संस्था लेट मे इन र नेपाल लाइफ वर्ल्ड मिसनको दर्तासमेत खारेज गरिएको धनगढी उमहानगरले जनाएको छ।
लेट मे इन धनगढी प्रालि नामको संस्थाले गत वर्ष साउन २२ गते सीपमूलक तालिम तथा परामर्श सेवा सञ्चालन गर्ने उद्देश्य राखेर जमिन भाडामा लिएर व्यवसाय दर्ता गराएको थियो । त्यस्तै, नेपाल लाइफ वर्ल्ड मिसनले गत वैशाख १६ गते सेमिनार, तालिम आदि कार्य गर्ने उद्देश्यसहित व्यवसाय दर्ता गराएको थियो ।
अस्पताल बनाउने भन्दै झुक्क्याएर बनाइएको संरचनामा संगीत र प्रार्थना हुन थालेपछि स्थानीय बासिन्दाले विरोध जनाएका थिए । स्थानीयको आग्रहपछि उपमहानगरपालिकाले लेट मे इन धनगढी प्रालिलाई २४ घण्टाभित्र लिखित जवाफ दिन पत्र पठाए पनि सो अवधिभित्र उसले जवाफ नफर्काएपछि डोजर चलाइएको उपमहानगरपालिकाले जनाएको छ ।