काठमाडौं । संस्थागत विद्यालय सञ्चालन निर्देशिका २०६९ ले विद्यालयले स्टेसनरी सामान बेचबिखन गर्न नपाउने स्पष्ट पारेको छ । सरकारले पनि विद्यालयलहरूलाई स्टेसनरी सामान नबेच्न पटक पटक निर्देशन दिएको छ ।
शिक्षा मन्त्रालयकै निर्देशनलाई निरन्तरता दिँदै स्थानीय तहहरूले पनि संस्थागत विद्यालयलाई शैक्षिक सामग्री नबेच्न सर्कुलर गर्दै आएका छन् । कतिपय स्थानीय तहले विद्यालयहरूमा अनुगमन गर्ने र कारबाही गर्ने गर्दै आएका छन् ।
तर, अधिकांश निजी शैक्षिक संस्थाले सरकारको निर्देशन पालना गरेका छैनन् । स्थानीय तहले अनुगमन र कारबाही गरेपनि अटेरी गरेको पाइएको छ ।
काठमाडौंका बोर्डिङ स्कुलमा आफ्ना छोराछोरी पढाउने अभिभावकले स्कुलबाटै स्टेसनरी सामान किन्नुपर्दा महंगो मूल्य तिर्नुपरेको गुनासो गर्ने गरेका छन् ।
स्थानीय तहले विद्यालयबाट स्टेसनरी सामान नबेच्न निर्देशन दिएपनि ति विद्यालयले भने लोगो मेटाएर स्कुलबाटै सामान बिक्री गर्ने वा निश्चित पसललाई जिम्मा दिएर कमिसन खाने गरेको पाइएको छ । यसरी स्कुलले भनेकै पसलबाट सामान किन्नुपर्दा अभिभावकले पाउनुपर्ने छुट पाउँदैनन् भने महंगो मूल्य तिर्नुपरिरहेको छ ।
अझ कतिपय स्कुलले तोकेका पसल विद्यालयभन्दा निकै पर हुँदा अभिभावकले सास्ति खेप्नुपरेको छ ।
एकजना अभिभावक रामप्रसाद भण्डारी सामाजिक सञ्जालमा ले्ख्छन्, ‘जे होस् महानगरका स्कुलभित्रबाट कपि किताब बिक्री बन्द भएछ । अलिपर गोदामबाट लिनुपर्ने रहेछ ।’
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० का अर्का अभिभावकले युगदर्शनसँग गुनासो गर्दै भने, ‘स्कुलले बच्चाहरूको लागि कापी किन्न पठाउने गरेको पसल घरबाट टाढा छ । नजिकका पसल छोडेर टाढा जानसपर्छ । त्यसमाथि धेरै सामान किन्दा पसलले दिने छुट दिँदैन । स्कुललाई कमिसन दिनुपर्छ भन्छन् ।’
नयाँ शैक्षिक सत्रको सुरुवातमा स्थानीय तहहरूले अनुगमन र कारबाही गरेपनि अनुगमनलाई निरन्तरता दिएका छैनन् । त्यसले गर्दा विद्यालयहरूको मनोमानी फेरि बढेको देखिन्छ ।
यद्यपी काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर आफूहरूले अनुगमनलाई निरन्तरता दिएका दाबी गर्छन् । यदी स्कुलबाटै स्टेसनरी सामान बेचेको भेटिए कारबाही गर्ने उनको भनाई छ ।
‘हामीले अहिले पनि अनुगमन गरिरहेका छौँ । तर, स्कुलबाट स्टेसनरी सामान बेचेको भेटिएको छैन’ मानन्धरले युगदर्शनसँग भने, ‘यदी अभिभावक प्रमाणसहित आउनुहुन्छ भने हामी कारबाही गछौँ ।’
काठमाडौं महानगरपालिका जस्तै धारणा छ, बूढानीलकण्ठ नगरपालिकाका सूचना अधिकारी केदारकुमार खड्काको पनि ।
खड्का भन्छन्, ‘शैक्षिक सत्र सुरु हुँदा, विद्यार्थीले धमाधम कापी किताव किन्ने समयमा हामीले अनुगमनलाई तिब्रता दिएका हौँ । अहिले अलिक कम भएको हो । तर अनुगमन गर्न छोडेको भन्ने होइन ।’
बूढानीलकण्ठ नगरपालिकाका शिक्षा शाखा प्रमुृख ललितविक्रम सिंहका अनुसार यसवर्ष नगर क्षेत्रका विद्यालयहरूमा अनुगमन गर्दा १४ वटा विद्यालयले स्कुलबाटै स्टेसनरी सामान बेचेको पाइएको थियो । उनीहरूलाई पाँच हजारका दरले जरिवाना पनि गरिएको थियो ।
यसरी जरिवानामा पर्ने स्कुलहरुमा भ्याली पप्लिक, डेफोडिल, रिलायन्स, लोयल्टीलगायत छन् ।
लेयल्टी र डेफोडिल स्कुलबाट त नगरपालिकाले बेच्न ठिक्क पारेको ठूलो परिमाणमा कापी समेत बरामद गरेको थियो । ती कापी अहिले पनि नगरपालिकामै रहेको र थप निर्णय नभएको शिक्षा अधिकारी सिंहले बताए ।
उनले स्कुलबाट स्टेसनरी बेचेको भेटिए थप कारबाही गर्ने प्रतिवद्धता समेत जाहेर गरेका छन् ।
सिंहले भने, ‘अनुगमनलाई फेरि निरन्तरता दिन्छौँ । यदी विद्यालयबाटै शैक्षिक सामग्री बिक्री गरेको पाइए थप कारबाही गछौँ ।’
स्टेसनरी सामग्री बेच्ने स्कुलमाथि बूढानीलकण्ठ नगरपालिकाको ‘एक्सन’