काठमाडौं । सरकारले तीनवटा प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ । यस्तै, ठूलो संख्यामा सचिव सरुवा गर्नुका सार्थ राजदूत पनि हेरफेर गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
स्रोतका अनुसार नयाँ प्रदेश प्रमुखमा बाग्मतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी सिफारिस भएका छन्।
उनीहरूको नियुक्ति राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ।
यसअघि बाग्मतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए। माओवादी र एकीकृत समाजवादी पृष्ठभूमिका प्रदेश प्रमुखलाई हटाएर एमाले र कांग्रेस पृष्ठभूमिका सिफारिस भएका हुन्।
ठूलो संख्यामा सचिव सरुवा
यस्तै, सरकारले ठूलो संख्यामा सचिव सरूवा गरेको छ।
मन्त्रिपरिषद्को बैठकले मधुकुमार मरासिनीलाई सरुवा गर्दै राजश्व सचिव रामप्रसाद घिमिरेलाई अर्थ सचिव बनाएको छ।
राजस्व सचिवमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश घिमिरेलाई सरुवा गरिएको छ।
मधुकुमार मरासिनीलाई उपराष्ट्रपति कार्यालय पठाइएको छ।
उपराष्ट्रपति कार्यालयकी राधिका अर्याल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरूवा भएकी छन्।
श्रम मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाइएको छ।
अख्तियारका सचिव रामेश्वर दंगाल वाणिज्य मन्त्रालयका सचिव भएका छन्।
सार्वजनिक खरिद अनुगमन कार्यालयमा रहेका भरतमणि सुवेदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरूवा भएका छन्।
रक्षा सचिव किरणराज शर्मालाई राष्ट्रपति कार्यालयमा पठाइएको छ भने राष्ट्रपति कार्यालयका डिल्लीराम शर्मा लोक सेवा आयोगमा सरुवा भएका छन्।
मन्त्रिपरिषद् बैठकपछि एक मन्त्रीले दिएको जानकारी अनुसार, २१ जना सचिवको जिम्मेवारी हेरफेर भएको छ। तर, रातभरिमा यो सूची अझै परिवर्तन हुन सक्नेछ।
१८ देशमा राजदूत सिफारिस
सकारले ५ देशका राजदूत फिर्ता बोलाउँदै १८ देशका लागि नयाँ राजदूत सिफारिस गरेको छ।
जसमा नेकपा एमालेकी स्थायी समिति सदस्य एवं पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फे दक्षिण कोरियाका लागि राजदूत सिफारिस भएकी छन् भने भारतमा शंकर शर्मा नै सिफारिस भएका छन्।
राजदूत शर्मालाई अघिल्लो सरकारले फिर्ता बोलाए पनि यो सरकारले पुनः सिफारिस गरेको हो।
यस्तै पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी अमेरिका र पूर्वसचिव चन्द्र घिमिरे बेलायतका लागि राजदूत सिफारिसमा भएका छन्।
मन्त्रिपरिषदले चीनका लागि कृष्णप्रसाद ओलीलाई राजदूत सिफारिस गरेको छ। ओली यसअघि केपी ओली नै प्रधानमन्त्री रहेका बेला राष्ट्रिय योजना आयोगको सदस्य थिए।
मलेसियाका लागि यसअघिकै सिफारिसअनुसार डा. नेत्रप्रसाद तिम्सिनाको नाम पठाइने भएको छ।
त्यस्तै जर्मनीमा शैल रुपाखेती, इजरायलमा धनप्रसाद पण्डित, साउदी अरबमा नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ, पोर्चुगलमा प्रकाशमणि पौडेल, अस्ट्रेलिया कान्ता रिजाल तथा पाकिस्तानमा रिता धिताल राजदूत सिफारिस भएका स्रोतले जनाएको छ ।