काठमाडौँ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले नेपाल पत्रकार महासङ्घ कास्की शाखा सदस्य एवम् अनलाइन खबर डट कमका गण्डकी ब्युरो प्रमुख अमृत सुवेदीलाई सार्वजनिक रूपमा कुट्नुपर्ने भन्दै धम्की दिएका छन् ।
मन्त्री गुरुङले दिएको सो अभिव्यक्तिप्रति नेपाल पत्रकार महासङ्घले ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्री गुरुङ आफ्नै कार्यकक्षमा गन्जी लगाएर बसेको फोटो साउन ११ गते शुक्रबार पत्रकार सुवेदीले सार्वजनिक गरिदिएका थिए । सोही निहुँमा मन्त्री गुरुङले पत्रकार सुवेदीलाई सार्वजनिक रूपमा कुट्नुपर्ने भनेर अभिव्यक्ति दिएको पत्रकार महासङ्घ कास्की शाखाले जनाएको छ।
“प्रदेश सरकारको मन्त्री जस्तो जिम्मेवार व्यक्तिबाट यस किसिमको अभिव्यक्ति आउनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो” महासङ्घले विज्ञप्ति निकालेर भनेको छ– “मन्त्री गुरुङको यो गैरजिम्मेवार अभिव्यक्तिले कानुनी राज्यको उपहास हुनुका साथै पत्रकारको सुरक्षासमेत चुनौतीपूर्ण बनेको महासङ्घको ठहर छ ।”
महासङ्घले यस्ता गैरजिम्मेवार र आतङ्कित अभिव्यक्ति दिने मन्त्रीमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन माग गरेको छ । साथै, संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गर्न र पत्रकारको सुरक्षामा विशेष ध्यान दिई सुरक्षित र निर्वाध रूपमा काम गर्ने वातावरणको प्रत्याभूति दिलाउन पनि सरकारसँग माग गरेको छ ।