काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा समिति सभापति र नेकपा (माओवादी केन्द्र) का सांसदबिच बाजाबाज भएको छ ।
२०८१ साउन १० गते बिहीबार बसेको बैठकमा सभापति राजकिशोर यादव र सांसद सुदन किरातीबिच भनाभन भएको हो ।
बैठकमा सभापति यादवले सांसद किरातीलाई बोल्न समय दिएका थिए । बैठकमा सांसद किरातीले १२ मिनेटभन्दा बढी समय बोलिसकेपछि एम.सी.सी. बारे धारणा राख्न थाले । सो विषयलाई रोकेर सभापति यादवले प्राविधिक कुरामा जान आग्रह गरे । सभापतिको आग्रहपछि किरातीले एजेन्डा धेरै राख्ने अनि बोल्न नदिने भन्दै आपत्ति जनाए ।
सभापति यादव र सांसद किराँतीबिच भएको सवालजवाफ जस्ताको त्यस्तै :
किराती– …हुन त सार्वभौमसत्ताको कुरा गर्दा हिजो एम.सी.सी. पनि त्यसैअन्तर्गत गयो त हाम्रो देश । सडकमा रक्तपात भयो, राँकेजुलुस भयो । देश आन्दोलित भयो । सार्वभौमसत्ता त्यति कमजोर छैन होला तर अहिले कसले हात हाल्ने कसले काम गर्ने परिस्थिति पनि त्यस्तै छ ।…
सभापति– मान्यज्यू एकपटक समयको…
किराती– के गर्नु एजेन्डा राखिहाल्नु भयो, एजेन्डामा त बोलिसकौँ न ।
सभापति– टेक्निकल कुरा राखौँ ।
किराँती– टेक्निकल त म कसरी राखौँ, राजनीतिक मान्छे । राजनीतिक व्यक्ति म, टेक्निकल कुरा त, कुन चाहिँ जहाज कति घण्टा उडाएर त्यसको रिसाइक्लिङ कहिले हुन्छ ? म सक्दिनँ नि त । विषयमा नीतिकेन्द्रित भन्नु न सभापतिज्यू । कसरी टेक्निकल्ली, टेक्निकल्ली भन्नुहुन्छ । म त जान्दिन टेक्निकल्ली । म त पाइलट पनि परिनँ ।
सभापति– यहाँ टेक्निकल विषयमा बहस हुने हो ।
किराती– राजनीतिक मान्छेले के गर्छ त ?
सभापति– ठिक छ, यहाँ विषयमा केन्द्रित हौँ न ।
किराती– केमा गर्दै छु त म ?
सभापति– तपाईं राजनीति…
किराती– सभापतिज्यू तपाईंले कसरी राख्नुभयो ? राखेकै कुरामा म छलफल गरिरहेको छु ।
सभापति– त्यही गरौँ न त । समय यहाँ कम छ ।
किराती– एजेन्ण्डा किन राख्नुभएको त ?
सभापति– कुरा राख्नु त भयो नि । विषयमा अलिकति केन्द्रित होऊँ न ।
किराती– म विषयभन्दा कसरी बाहिर गएँ ? तपाईंले पो बुझ्ने समस्या भयो त यो ।
सभापति– मान्यज्यू तपाईं अलिकित हद पार गर्दै हुनुहुन्छ । तपाईंले यहाँ…
सुदन किराती– तपाईं यहाँ दोहोरो संवाद गरेर नष्ट गर्ने, धेरै एजेण्डा राख्ने ?
सभापति– तपाईं यहाँ…
किराती– एजेन्डामा हामी बोल्न नपाउने ? के हो यो ?
सभापति– तपाईंलाई…
किराती– तपाईं हठी कि म हठी ?
सभापति– म कुरै..।
किराती– फेरेर कुरा गर्नुहुन्छ ।
सभापति– तपाईं समयलाई ध्यान दिनू ।
किराती– सभापतिज्यू कोर्डिनेसन गर्नुस् ।
सभापति– होइन, समयलाई त ध्यान दिनू…।
किराती– तपाईंले नयाँ मन्त्री छ त किन यति ४/४ ओटा गर्नुभयो त ।
सभापति– किन गरिँदैन ?
किराती– मलाई बोल्न दिँदा किन तपाईं रोक्नुहुन्छ ?
सभापति– विषयमा राख्नुस् न ।
किराती– यत्रो पढ्नै थियो, अझै मैले छोट्याउन खोजेको ।
सभापति– विषयमा राख्नुस् न ।
किराती– म त छोट्याउँदै छु, विषयकेन्द्रित नभए के हो यो ? अरू माननीयजतिले त मैले बोलेकै छैन त । ठिक छ मन्त्रीज्यू म बोलिनँ ।
किराती– तपाईंको पनि… टेप लाएर…
सभापति– मान्य हरि उप्रेतीलाई…
हरि उप्रेती– कारण कसले पहिल्याउने ? थोत्रा प्लेनको, पाइलटको, कोपाइलटको कारण कि, गुगलको कारण । यो विषय पहिला छुट्याउन जरुरी छ जस्तो लाग्छ मलाई ।
किराती– सभापतिज्यू म लागेँ । तपाईंले आज धम्क्याउन बोलाउनुभएको रहेछ, धन्यवाद ।
उप्रेती– कसैले पनि धम्क्याएको छैन, बसौँ मान्यज्यू ।
किराती– म बस्दिनँ ।
उप्रेती– यति गम्भीर विषय छ, देशको स्थिति ।
किराती (झर्किंदै)– गम्भीर विषयमा त कुरा राख्न पाउनुपर्यो नि ।
उप्रेती– राख्नुभयो त । त त्यत्रो…
किराती– तपाईंले मलाई रुलिङ गर्ने कि उहाँले गर्ने ? तपाईं फेरि रुलिङ गर्न थाल्ने ?
सांसदहरू– बसौँ न मान्यज्यू ।
उप्रेती– राम्रो विषय राख्नुभएको छ भन्दै छु त ।
किराँती– एजेन्डामा कुरा गर्न नदिने भए किन एजेन्डा राख्नुभयो ?
किरा- म त छोट्याउँदै थिएँ ।
सभापति– यसलाई कन्टिन्यु गरौँ ।
किराती– अरूलाई बोल्न भारी दिने, मलाई टेक्निकल कुरा गर् भन्ने ?
सभापति– बसौँ बसौँ ।
किराती– म थोडी इन्जिनियर पढेको हो ? म राजनीति गरेर आएको हो । तपाईं गर्नुस् टेक्निकल कुरा, छानबिन पनि तपाईं गर्नुस् । तपाईं दाइने झर्यो कि देब्रे झर्यो हेर्नुस् । कस्तो बोल्नु दिनुहुन्न ?
सभापति– हरि उप्रेतीज्यू बोल्नुस् ।