काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले संघीयताप्रति आम जनताको वितृष्णा रहेको स्वीकार गरेको छ ।
प्रदेशका मन्त्री छनोटमा पार्टी केन्द्रको निर्णयप्रति असन्तुष्टि जनाउँदै कांग्रेस लुम्बिनी प्रदेश समितिले प्रदेश संरचनामै जनताको वितृष्णा रहेको स्मरण गराएको हो ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिका सभापति अमर सिंह पुनले केन्द्रीय सभापति शेरबहादुर देउवालाई पत्र पठाउँदै सो कुराको स्मरण गराएका हुन् ।
कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीहरु छनौट गर्दा संघीयता, समावेशीताको मर्म र पार्टीको विधानविपरीत भएको उनले बताएका छन् ।
‘नेपाली जनतामा संघीयता र प्रदेश संरचनाप्रति वितृष्णा पैदा भइरहेको बेला नेपाली कांग्रेसका आम साथीहरुको भावना विपरित यस किसिमको निरंकुश कार्यशैलीले पार्टीको प्रदेश संरचना कमजोर बन्ने ठहर गरेका छौँ’ विज्ञप्तिमा भनिएको छ ।
उनले पार्टी केन्द्रलाई तत्काल निर्णय सच्चाउन आग्रह गर्दै त्यसो नभए राम्रो सन्देश नजाने बताएका छन् ।
लुम्बिनी कांग्रेसमा सभापतिसहित अधिकांश इतर समूहका छन् भने सांसदहरुमा बहुमत संस्थापन समूहका छन् ।
लुम्बिनी प्रदेशमा हिजो (साउन ९ गते) नेकपा एमालेका मुख्यमन्त्री चेतनारायण आचार्यसहित ९ जना मन्त्रीले शपथ लिएका छन् । जसमा ४ जना कांग्रेसका मन्त्री छन् ।
मुख्यमन्त्री आचार्यले भूमिश्वर ढकाल, दिनेश पन्थी, बादशाह कुर्मी, धनेन्द्र कार्की, सरोज थापा, प्रचण्डविक्रम न्यौपाने, खेमबहादुर सारु र सीता शर्मालाई बिनाविभागीय मन्त्री बनाएका हुन्।
नवनियुक्त मन्त्रीमध्ये बादशाह कुर्मी निर्मलादेवी कुर्मी बेपत्ता पारेको आरोप लागेका व्यक्ति हुन् ।