काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख अमिक शेरचन समक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
शपथसँगै उनले ९ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका छन् । कांग्रेस र एमालेका गरी ८ जना प्रदेश सांसदलाई बिनाविभागीय मन्त्रीमा नियुक्त गरेका हुन्।
मुख्यमन्त्री आचार्यले भूमिश्वर ढकाल, दिनेश पन्थी, बादशाह कुर्मी, धनेन्द्र कार्की, सरोज थापा, प्रचण्डविक्रम न्यौपाने, खेमबहादुर सारु र सीता शर्मालाई बिनाविभागीय मन्त्री बनाएका हुन्।
निर्मलादेवी कुर्मी बेपत्ता पारेको आरोप लागेका बादशाह पनि मन्त्री
बाँकेकी निर्मलादेवी कुर्मीलाई अपहरण गरी बेपत्ता पारेको आरोप लागेका बादशाह कुर्मी पनि मन्त्री बनेका छन् ।
जानकी गाउँपालिका परस्पुरकी कुर्मीलाई बादशाहकै निर्देशनमा अपहरण र बेपत्ता पारिएको भनी आफन्त र अधिकारकर्मी आन्दोलित छन्।
२०७५ सालदेखि बेपत्ता निर्मलादेवीको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन।
गृह मन्त्रालयको प्रतिवेदनमा एकल महिला निर्मलादेवीको जग्गा हत्याउन उनलाई अपरण गरी बेपत्ता बनाइएको उल्लेख छ।
घटनामा संलग्नहरूको सूचीमा बादशाहको नाम पनि छ।
प्रतिवेदनमा लेखिएको छ, ‘विधवा तथा एकल महिला निर्मला कुर्मीमाथि बादशाह कुर्मी, कुँवर बब्बन सिंह, धिरेन्द्र सिंह, अम्मरलाल कुर्मी, भारतीय नागरिक मुनिम कुर्मी लगायतका ८ जनाले कुटपिट गरी सम्पत्ति खाने नियतले सम्पूर्ण कागजातहरू नागरिकता, लालपुर्जा, नाता कायमको कागज जबरजस्ती खोसेर लगे।’
त्यसपछि निर्मलालाई बेपत्ता पारिएको प्रतिवेदनमा उल्लेख छ।
उनको न्यायका लागि अधिकारकर्मी रुवी खानले अभियान नै चलाएकी थिइन्। उनको नेतृत्वमा काठमाडौँमा पटकपटक आन्दोलनसमेत भएका थिए।
यस क्रममा सरकारले दोषीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने सहमति पनि गरेको थियो।