काठमाडौं । विद्युत् लाइन काटिएका उद्योगमा आजै बिजुली जोडिने भएको छ । प्राधिकरणको मंगलबार बसेको सञ्चालक समिति बैठकले लाइन जोड्ने निर्णय गरेको हो ।
बोर्ड बैठकमा सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनले फरक मत राखेका थिए ।
कार्यकारी निर्देशक कुलमान घिसिङले ३ महिनाको समय दिएर ६ उद्योगमा लाइन जोड्न ल्याएको प्रस्ताव बोर्ड बैठकको बहुमतले पारित गरेको एक सदस्यले जानकारी दिए ।
यसअघि सोमबार बसेको सञ्चालक समिति बैठक निष्कर्षविहीन भएको थियो। मंगलबार बैठकले निर्णय गरेसँगै अब लाइन काटिएका ६ उद्योगमा बिजुली जोडिने निश्चित भएको छ।
प्राधिकरणले असार २५ र २७ गते रिलाइन्स स्पिनिङ मिल्स, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ वटा उद्योगको लाइन काटिदिएको थियो।
सोसँगै यही साउन ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी निर्देशक घिसिङलाई तत्काल काटिएका उद्योगको बिजुली जोड्न निर्देशन दिएका थिए।