हेटौडा । नेपाली काङ्ग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा (तामाङ) ले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको छ ।
नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का ६४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित नेता लामाले प्रदेशप्रमुख यादवचन्द्र शर्मासमक्ष दाबी पेस गर्नुभएको हो ।
काङ्ग्रेस बागमती प्रदेशका सभापति तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाका साथ उहाँले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै प्रदेशप्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि दलहरुलाई आज साँझ ५ बजेसम्ममा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।
यसैबिच काङ्ग्रेसले मुख्यमन्त्रीसहित सात र एमालेले छ मन्त्रालय लिने सहमति भएको जनाइएको छ ।
काङ्ग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय लिने सहमति भएको नेपाली काङ्ग्रेस संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्सालले जानकारी दिनुभयो ।
नेकपा एमालेले भौतिक पूर्वाधार मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय लिने सहमति भएको उहाँले बताउनुभयो । (रासस)