अशोक खनाल, लालमटिया (दाङ) ।
पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) को ठाडो आदेशमा काटिएका रुख पलाएर वृक्ष बन्न पुगेका छन् ।
त्यति बेला राप्ती गाउँपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका र शीतगङ्गा नगरपालिका समेतलाई संलग्न गराई पूर्वपश्चिम लोकमार्गको भालुवाङ लमही सडकखण्डको २५ किमिको दुरीमा दायाबाया रहेका रुख तथा झाडी सफाइ गरिएको थियो ।
आजभन्दा दुई वर्षअगाडि लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका निमार्णका क्रममा डिभिजन वन कार्यालय, सडक विभागलगायतका जिम्मेवार कार्यालयको सहमतिबिना नै सयौँ रुख तथा झाडी हटाउने कार्य भएको थियो ।
सोही क्रममा राप्ती–२ लालमटियामा स्थानीय रविलाल न्यैपानेले करिब ४४ वर्षपहिले रोपेका बरपिपल पनि काटिएका थिए ।
हिन्दु धार्मिक सांस्कृतिक महत्त्व बोकेका ती दुवै रुख काटिँदा स्थानीय ज्येष्ठ नागरिकलगायत सर्वसाधारणले गर्मी छल्न छहारीको रूपमा त्यसलाई प्रयोग गरेका थिए ।
हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र ती बरपिपलमा जल चढाउने, भजनकीर्तन गर्ने जस्ता कार्य पनि गत लामो समयदेखि चलिरहेका थिए ।
एकाएक रुख काटिँदा दुई वर्षसम्म निराश बनेका ती स्थानीयलाई हाल उक्त पिपलको ठुटा जरादेखि पलाएर हरियाली वृक्षमा परिणत भइरहदा स्थानीय भीमबहादुर धिमिरे खुसीले गदगद छन् ।
