गुल्मी । धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला सुरु भएको छ ।
साउनभर सञ्चालन हुने मेलामा रेसुङ्गा क्षेत्रमा रहेको महापोखरीमा स्नान र पूजाआजाका लागि दिनहुँ श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
रेसुङ्गा संरक्षण समितिले यज्ञशाला मन्दिर परिसरमा साउनभर पुराण वाचन, पाठपारायण, भजनकीर्तन, होम, श्राद्धलगायत धार्मिक कार्यक्रमहरु आयोजना गरेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिनुभयो ।
रेसुङ्गाको महापोखरी क्षेत्र र मन्दिर परिसरमा माछा, मासु एवं मादक पदार्थ सेवन तथा बिक्री वितरणमा रोक लगाएको छ । मेलालाई व्यवस्थित गर्न समितिले सदरमुकाम तम्घासबाट महापोखरीसम्मको यातायात सहज बनाउने गरी व्यवस्था मिलाएको जनाइएको छ ।
रेसुङ्गा नगरपालिकाले यस वर्ष ‘जाउँ हिँड रेसुङ्गा’ अभियान सञ्चालन गरेकाले विगत वर्षहरुको तुलनामा यस क्षेत्रमा पर्यटकका सङ्ख्या उल्लेख्य बढेको अभियानका संयोजक रामजी पन्थीले बताउनुभयो ।
गुल्मीको धार्मिकस्थल कालीगण्डकी र रुद्रवेणी धाममा पनि साउने सङ्क्रान्तिका अवसरमा आज बिहानदेखि भीड लागेको छ । भक्तजनहरु नदीमा स्नान गरी पूजापाठ गर्ने बढेका छन् । कालीगण्डकी गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल हो ।
यस क्षेत्रमा पाल्पा, स्याङ्जा, अर्घाखाँची, बाग्लुङ्, प्यूठान, रुपन्देही, नवलपरासीलगायत ठाउँबाट भक्तजन आउने गरेका छन् ।