रामबहादुर बुढा
रोग सर्ने र नसर्ने दुई प्रकारका हुन्छन् । सरुवा रोग दुई प्रकारले सर्दछ: ब्याक्टेरिया र भाइरसबाट । यो लेखमा सरुवा रोग र अन्धविश्वासका सम्बन्धमा सामान्य रूपमा चर्चा गरिने छ । क्यान्सर, मधुमेह, रक्तचाप, हृदयघात, मस्तिष्कघात, दम, बाथलगायत नसर्ने रोग हुन भने एड्स, हैजा, आउँ, रुघाखोकी, टाइफाइड, टिबी, मलेरिया, डेगु, बिफरलगायत सरुवा रोग हुन।
सरुवा रोग
क्षयरोग (टिबी): औषधि नबन्दासम्म यसले सतायो । ब्याक्टेरियाबाट लाग्ने यो रोग औषधि बनेपछि निको पार्न सजिलो त भएको छ तर हरेक वर्ष यसले हजारौं मनिसको ज्यान लिइरहेको छ ।
एडसः यस रोगले लाखौँ मानिसको ज्यान लियो । यस रोगले बिमारीको शरीरको रोग प्रतिरोधात्मक क्षमता ह्रास गराइदिन्छ । अहिले रोग प्रतिरोधात्मक शक्ति बढाउने औषधि बनेपछि एड्सको समस्यामा कमी आएको छ । तर निर्मूल भइसकेको छैन।
प्लेगः आजको इटली भएको ठाउँ प्राचीनकालको एथेन्स राज्य थियो । ईपू ४३० मा महामारी प्लेग रोग फैलिएर शक्तिशाली एथेन्स कमजोर भएको थियो । त्यतिबेला ७५ हजारदेखि १ लाखसम्म मानिसको मृत्यु भएको विश्वास गरिन्छ । त्यतिबेलै एथेन्सको स्पार्टासित युद्ध भयो र एथेन्सले हार्नुपरेको थियो ।
प्लेगः सन् १३४७–५१ मा युरोपमा प्लेग फैलिएर केही करोड मानिस मरेका थिए । त्यसलाई ब्लेक डेथ भनिएको थियो । बिरामीलाई अलग राख्न भनिन्थ्यो । रोग फैलिन नदिने उपाय भनेको चेन तोड्ने नै एक मात्र उपाय मानिन्थ्यो उति बेला पनि ।
स्पेनिस फ्लूः प्रथम विश्वयुद्ध उत्कर्षमा पुगेको थियो । सन् १९१८ मा अमेरिकी सेनामा स्पेनिस फ्लू देखा प-यो । त्यो भाइरस अमेरिकी सेनाको बिचमा फैलियो । त्यहाँबाट सङ्क्रमण भएर जर्मनी, बेलायती सेनामा फैलियो । ती सेना मार्फत् विश्वभरि फैलिँदै गयो । विश्वभरिका करिब ५० करोड जनतामा भाइरस स्पेनिस फ्लू फैलियो र करिब ५ करोड मानिसको मृत्यु भयो ।
भारतमा मात्र करिब १ करोड ४० लाख मानिसको मृत्यु भएको थियो । विश्वयुद्धले बर्बाद बनाएको मानव संसारलाई भाइरसले चोटमाथि चोट थपेको थियो । आज कोरोना भाइरस सङ्क्रमणका बेला सङ्क्रमणबाट जोगिन जे भनिन्छ, त्यति बेला एक सय वर्षपहिले पनि अमेरिकाबाट प्रकाशित हुने पत्रिका मार्फत् ठिक तिनै कुरा प्रचार गरिन्थ्यो । बिरामीलाई आइसोलेसनमा राख्ने, पटक पटक हात धुनुपर्ने, दुरी कायम गर्नुपर्ने, घरबाहिर निस्कदा मास्क प्रयोग गर्नुपर्नेलगायतका सूचना प्रकाशित गरिएको थियो ।
बिफर/प्लेगः यी रोग दश हजार वर्षभन्दा पहिले विश्वमा हिमयुग आएको थियो । अहिलेको अमेरिकाको अलास्का टापु र रुसबिचको बेरिङ सागर हिउँले ढाकेको थियो । समुन्द्रमाथि जमेको हिउँको बाटो भएर रुसबाट मानिस अलास्का हुँदै अमेरिका पुगेका थिए भन्ने विश्वास गरिन्छ । तिनीहरू अमेरिकाका आदिवासी बने । हुन त सन् १४९२ मा इटालीका क्रिस्टोफस कोलम्बस युरोपबाट अमेरिका पुगेका थिए । त्यसपछि मानिस युरोपका विभिन्न देशबाट अमेरिका पुगे । उनीहरूले बिफर, हैजा, प्लेगजस्ता कैयौँ प्राणघातक सरुवा रोग पनि लिएर गए ।
सरुवा रोगले कैयौँ अमेरिकी आदिवासी मरे। अमेरिका कसले कब्जा गर्ने भन्ने होडबाजी युरोपका साम्राज्यवादीका बिचमा धेरै वर्षसम्म चलिरह्यो । हत्याहिंसा गरेर धेरै आदिवासीलाई उनीहरूले समाप्त पारे र उनीहरूले युरोपबाट लिएर गएको सरुवा रोगले पनि धेरै आदिवासीलाई सखाप पारेको थियो ।
हैजाः वि.सं. १९९० मा नेपालमा ठुलो भुइँचालो गएको साल सरुवा रोग हैजाको प्रकोप पनि फैलिएको थियो । कैयौँ मानिस गाउँबाट जङ्गलतिर भागेर पनि ज्यान बचाएका थिए । यस्ता हैजा रोग नेपालमा पनि धेरै पटक आयो र धेरैको ज्यान खायो।
बर्ड फ्लूः यो भाइरस सुरुमा सन् १९७८ मा पन्छी र १९९७ मा सुँगुरमा भेटिएको थियो । सन २००६ मा र त्यसपछि पनि नेपालमा कुखुरामा यो भाइरस देखिने गरेको छ ।
इबोलाः सन् २०१४ मा गिनी, लाइबेरिया, सियरालियोन, नाइजेरियालगायतका पश्चिम अफ्रिकी मुलुकमा यो भाइरस फैलिएको थियो । त्यति बेला विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्य सङ्कटकाल घोषणा गरेको थियो ।
स्वाइन फ्लूः यो भाइरस सन् २००९ मा मेक्सिकोको वेराक्रुज इलाकाको सँगुर फारमबाट उत्पत्ति भएको थियो । धेरै देशलाई यसले असर गरेको थियो ।
कोरोना भाइरसः सन् २००३ मा कोरोना वर्गको सार्स भाइरस दक्षिण चीनको गोआङदोङ प्रान्तबाट फैलिएर करिब ३० देशलाई असर गरेको थियो । सन् २०१२ मा साउदी अरेबियाबाट फैलिएको कोरोना वर्गको मर्स भाइरसले विश्वका कैयौँ मानिसको ज्यान लिएको थियो । कोभिड–१९ (कोरोनो भाइरस), जसले अहिले संसारलाई आकुलव्याकुल बनाइरहेको छ । यससम्बन्धी विज्ञले बताएअनुसार यसभन्दा पहिलेका सार्स प्रथम, मर्स दोस्रो र यो तेस्रो रूप कोभिड–१९ हो ।
माथिको सङ्क्षिप्त विवरणबाट सरुवा रोगको महामारीले यसभन्दा पहिले पनि मानव समाजलाई ठुलाठुला बिपत्तिमा पारेको थाहा हुन्छ ।
अन्धविश्वास
गाई, भैँसी, कुकुर, भेडा, बाख्राजस्ता पशु चेतन प्राणी हुन् तर तिनीहरू ईश्वर, राक्षस, स्वर्ग र नर्कजस्ता भ्रममा हँुदैनन । तिनीहरूले त्यस्ता भ्रमपूर्ण चिज सोच्न र कल्पना गर्न सक्दैनन् । मानिस सबैभन्दा चेतनशील प्राणी भइकन पनि हजारौँ वर्षदेखि अनेकौँ भ्रम र धार्मिक अन्धविश्वासमा बाँच्दै आएको छ । सबैभन्दा चेतनशील सबैभन्दा भ्रमित।
मानिसले कस्ता कस्ता अन्धविश्वास पालिरहेको छ भन्ने खोज्दै जाने हो भने हजारौँ उदाहरण समाजमा पाउने छौँ । हिन्दु समाजमा चन्द्रमालाई ग्रहण लाग्यो भने “छोड चमार” छोड भन्दै टिन, थाली जे छन्, ठटाउँदै कराउने, हाहा र होहो गर्ने गर्दछन् । चन्द्रमाले पृथ्वीलाई घुम्छ र पृथ्वीले सूर्यलाई घुम्छ । सूर्यको किरण चन्द्रमामा परेपछि हामीले चन्द्रमा उज्यालो देख्छौँ । तर पृथ्वी र चन्द्रमा घुम्दै जाँदा सूर्य र चन्द्रमाको बिचमा पृथ्वी पर्न आउँछ । चन्द्रमामा पुग्नुपर्ने सूर्यको किरणलाई कहिलेकाही पृथ्वीले केही समय छेकिदिन्छ र चन्द्रमामा कालो धब्बा लागेको देखिन्छ । चन्द्रमामा कालो धब्बा लाग्नुमा सार्की वा चमारको कुनै दोष छैन । तर दोष दिइन्छ । यो अन्धविश्वास हो र जातीय अपमान पनि ।
तराईको केही ठाउँमा खेतीपाती गर्ने बेलामा वर्षात् भएन अर्थात् खडेरी प-यो भने भ्यागुताको विवाह गर्ने चलन छ । भागुताको विवाहले वर्षात् हुने हैन । नेपालमा हिउँदमा पश्चिमको अरबियन सागरबाट उठेको मनसुन र वर्षा याममा पूर्वको बङ्गालको खाडीबाट उठेको मनसुनबाट पानी पर्दछ । मनसुन आउन ढिलो हुँदा खडेरी परेको हो । खडेरी परेमा “हर हर महादेव, पानी देऊ” भनेर आकाशतिर पानी फाल्ने चलन पनि छ । पहाडमा पहिरो गयो भने समुद्रको पानी छर्कने हो भने पहिरो रोकिन्छ भन्ने अर्को भ्रम छ । पहाडमा जमिन कमजोर भएकाले, भारी वर्षात् भएकाले वा अरू प्राकृतिक कारणले पहिरो जान्छ । समुद्रको पानी छर्किएर पहिरो रोकिँदैन । केही वर्षपहिले आकाशमा लामपुच्छ्रे तारा देखा पर्दै छ भनेर वैज्ञानिकले बताए । क्रिस्चियन धर्मको एउटा सम्प्रदायले त्यो लामपुच्छ्रे तारा आकाशमा देखिएको बेला त्यसलाई हेर्दै आत्महत्या गर्ने हो भने स्वर्ग गइन्छ भन्ने हल्ला चलायो र २५ जनाले लामपुच्छ्रे तारा हेर्दै आत्महत्या गरे । शुद्र र दलितले छोएको खानु हुँदैन र महिलाको महिनावारी भएलो बेला कसैसित छोइनु हुँदैन । किनभने त्यसबेला उनीहरू अपवित्र भएका हुन्छन भन्ने अर्को भ्रम छ ।
समाजमा यसै पनि कैयौं अन्धविश्वासले घर जमाएर बसेका हुन्छन् । बिपत्तिका बेलामा झन् अनेकौँ रूढीवादी र अन्धविश्वासपूर्ण चिज देखा पर्दछन् । जब कोरोना भाइरसको समस्या देखा प-यो, संसारका विभिन्न धर्मगुरुले ईश्वरको प्राथना गरेमा भाइरसबाट बच्न सकिन्छ भनेर अफवाह फैलाए । हामी मुसलमानले अल्लाहलाई विश्वास नगरे कसले विश्वास गर्ला ? हामीलाई अल्लाहले बचाउँछन्, मास्क लगाउनुपर्ने वा अन्य कुनै सुरक्षाको काम गर्नै पर्दैन । यदि मरिएछ भने पनि अल्लाहको इच्छाले नै स्वर्ग गइने छ । यो पाराले मुल्लाहले इस्लाम धर्मका अनुयायीलाई प्रशिक्षण गर्ने काम गरे ।
मार्च २३, २०२० मा प्रहरी प्रशासनले उनीहरूलाई जमघट नहुन भन्दाभन्दै पनि तबलिगी जमातको ठुलो जमघट दिल्लीमा भयो । भारतीय प्रहरी–प्रशासनले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रण गर्न नपाउँदै धेरै सहभागी विभिन्न ठाउँमा पुगे । उनीहरूको भेलामा कोरोना सङ्क्रमित रहेछन् । जताततै उनीहरूले सङ्क्रमण फैलाउने काम गरे ।
भारतीय अतिहिन्दुवादीले हिन्दुस्तानलाई ध्वस्त पार्नका लागि जानीबुझी तबलिगी जमातीलाई प्रयोग गरेको बताएका छन् । त्यो भनाइमा कति सत्यता छ ? हामी अहिले नै भन्न सक्दैनौँ । तर यो घटनाबाट अन्धविश्वास निकै घातक हुन्छ भन्ने कुरा प्रष्ट देखियो । नेपालमा हिन्दु अनुयायीले कोरोनाबाट बचाऊ भन्दै पशुपतिनाथ र देवीदेवता पुकार्ने काम गरे । क्रिस्चियन पादरीले प्रभुको प्राथना गरेर कोरोना सङ्कटबाट जोगिन अनुयायीलाई अर्ति दिइरहेका छन् ।
नेपालका विभिन्न ठाउँमा घरको अगाडिको आँगन खनेर त्यहाँबाट निस्कने कालो माटोको टिका लगाएमा कोरोना लाग्दैन, बत्ति बाल्ने, शङ्खघन्ट बजाउने गरेमा कोरोना लाग्दैन वा कोरोना भाग्दछ भन्ने प्रचार गरेको भेटियो र कैयौँ मानिस लहलहैमा घरको आँगन खनेको पनि पाइयो । अचम्मको कुरा त के भयो भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत चैत्र २३ (अप्रिल ५, २०२०) गते बेलुकी ९ बजे सबैले बिजुलीबत्ति निभाएर टुकी, लालटिन, मोबाइलको लाइट बाल्ने द्वीप प्रज्ज्वलन कार्यक्रम राखेका थिए । त्यसका लागि सबै भारतीय जनतालाई आह्वान गरेका थिए ।
उनको द्वीप प्रज्ज्वलन कार्यक्रम नेपालका लागि थिएन । कैयाँै ठाउँ र शहरमा मोदीको बत्ती बाल्ने कार्यक्रम नेपालमा पनि सम्पन्न भयो । पशुपतिका पुजारीले भनेकाले नेपालमा पनि द्वीप प्रज्ज्वलन गर्नुपरेको भनेको पनि सुनियो । पशुपतिका मूल पुजारी भारतीय हुने भएकाले मोदीको कार्यक्रमलाई सफल पार्न भनेका पनि हुन सक्दछन् । भने वा भनेनन ? जे होस्, नेपालको आफ्नो कुनै घोषित कार्यक्रम बिना भारतको घोषित कार्यक्रममा नेपालका ठुलाठुला शहर अन्धकार बनाएर द्वीप प्रज्ज्वलन गर्नुले नेपालीहरू कति धेरै हल्लाका पछाडि हिँड्दा रहेछौँ र पराश्रित मानसिकताका पनि बनिसकेका रहेछाँै कि भनेर सोच्नुपर्ने बनाएको छ यो घटनाले ।
मानिसलाई लकडाउनमा राख्न भारतमा प्रहरीले अनेकौँ विधि अपनायो । लकडाउनको नियम उल्लङ्घन गर्नेलाई प्रहरीले सार्वजनिक चोकमा उठबस गराउने, कुखुरा बनाउने, अब गल्ती गर्दैन भनेर प्रतिबद्धता जाहेर गर्न लगाउने, राष्ट्रियगान गाउन लगाउने र लाठीचार्जसम्म ग-यो । प्रहरीले टाउकामा दुई सिङ भएको डरलाग्दो आकृतिमा यमराजको रूपधारण गरेर चोकचोकमा माइकिङ ग-यो– “मै हुँ यमराज, कोरोना मेरा दूत”, “सब लोग रहो अन्दर, न आओ बाहर, बाहर आए तो यमराजका घर” ।
भारतमा मोदीको द्वीप प्रज्ज्वलन होस् वा प्रहरीको यमराजको अभिनय जनतामा अन्तर्निहित धार्मिक भावना, अझ स्पष्ट शब्दमा भन्दा धार्मिक अन्धविश्वासलाई प्रयोग गरेर लकडाउन सफल पार्न खोजेको देखियो । भाइरस सङ्क्रमणलाई रोक्न जनतामा प्रगतिशील/वैज्ञानिक चेतनाको प्रचार र विकास गराउनु आवश्यक थियो र छ । भाजपाजस्तो धार्मिक अन्धराष्ट्रवादी पृष्ठभूमिबाट आएको पार्टीको सरकारबाट त्यो सम्भव छैन । भारतीय समाज त्यसै पनि धार्मिक अन्धविश्वासले ग्रसित छ । भाजपा सरकारले कोरोना सङ्कटलाई प्रयोग गरेर जनतामा अझ बढी धार्मिक अन्धविश्वासको भावना बढाउने काम गरेको छ ।
आन्दोलनका बेला ब्ल्याकआउट, थाली ठटाउने, द्वीप प्रज्ज्वलनजस्ता विभिन्न प्रकृतिका कार्यक्रम सञ्चालन गरिन्छ । समस्याको विरुद्धमा भावनात्मक एकता प्रदर्शन गर्न त्यस खालका कार्यक्रम भौतिकवादी वा अन्धविश्वास विरोधीले पनि गर्दछन । आशावादी बनाउन वा उज्यालो भविष्यको सङ्केतस्वरूप द्वीप प्रज्ज्वलन, गरिबी, भोकमरी, जनजीविकाको समस्यालाई विरोध गर्न थाली प्रदर्शन वा थाली ठटाउने कार्यक्रम राख्न सकिन्छ । थाली ठटाउने, द्वीप प्रज्ज्वलन गर्ने कार्यक्रम आफैमा गलत हैन ।
यहाँ भन्न खोजिएको कतिसम्म हो भने ती कार्यक्रमलाई धार्मिक अन्धविश्वाससित जोड्नु गलत हो । जस्तै कि नेपालका कतिपय पहाडी भेगका गाउँमा हाको र हाक हाल्ने काम गरियो र भारतमा प्रहरीले यमराजको अभिनय गरेर कोरोना सङ्क्रमण विरुद्ध प्रचार गर्ने काम गरे । हाको र प्रहरीको अभिनय दुबै प्रचार प्रसारको विधि थियो । हाको परम्परागत सूचना विधिको प्रयोग थियो र प्रहरीको यमराजको अभिनय जनताको धार्मिक अन्धविश्वासको उपयोग थियो ।
सङ्कटका बेला अन्धविश्वास र भ्रम फैलाउनु भनेको सामाजिक अपराध हो । यस्तो सङ्कटका बेलामा चेतनास्तर कमजोर भएका मानिसको बिचमा पृथ्वी ध्वस्त हुँदैछ भनेर त्रास फैलाउने वा अन्य प्रकारका भ्रम फैलाउने काम पनि हुने गरेका छन् । त्यस प्रकारका अपराध गर्नेलाई कानुनी कारबाही गरेर जनतामा सकारात्मक सन्देश दिन जरुरी छ । सम्पूर्ण सञ्चार माध्यमले रोग फैलिनुको वैज्ञानिक कारण प्रचार गर्दै सरुवा रोग सङ्क्रमण रोक्न चेतना जगाउने काम गर्नुपर्दछ ।
जनतालाई त्रसित बनाउने हैन, प्रगतिशील विचारको आधारमा जनतालाई सतर्क बनाउनुपर्दछ । रोग सङ्क्रमणबाट जोगिन अनुशासित बन्न सक्नुपर्दछ । लेखक, साहित्यकार, कलाकार र बुद्धिजीवीले समाजमा सत्य, साँचो सूचना, विचार र सन्देश प्रवाह गरिरहनुपर्दछ । राजनीतिक दल, सङ्घसङ्स्था, सरकारका सबै निकायले अन्धविश्वासलाई निरुत्साहित र सत्य कुरालाई स्थापित गर्न हरसम्भव प्रयत्न गर्नुपर्दछ । कोरोना भाइरसको समस्या कहिलेसम्म रहन्छ ? चीनले वुहानमा कोरोना नियन्त्रण गर्न करिब चार महिना लाग्यो । नियन्त्रण भएर दोहोरिन पनि सक्छ भन्ने विज्ञको भनाइ छ ।
यो लेख लेख्दासम्म पचास जनाभन्दा बढी विदेशमा नेपालीको मृत्यु भएको खबर छ तर नेपालमा अझैसम्म कोरोनाबाट मरेको रिपोर्ट छैन । यद्यपि पचासभन्दा बढीलाई रोग सरेको र केही सञ्चो भएर पनि घर फर्किएको समाचार छ । हाम्रो एकता, अनुशासन, धैर्यता र आपसी सहयोगबाट कोरोना सङ्कटलाई परास्त गर्न सकिने छ । सही सूचनाको भर परौं । गलत अफवाहको पछि नलागौँ । अन्धविश्वासलाई निरुत्साहित गरौँ ।