काठमाडौँ । मनसुनको न्यूनचापीय रेखा सरदरभन्दा उत्तरतर्फ सर्दा देशैका विभिन्न स्थानमा अतिवर्षा हुने देखिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार २०८१ असार २८ गते शुक्रबार मौसमसम्बन्धी जानकारी प्रस्तुत गर्दै सतर्क रहन आग्रह गरेको हो ।
मनसुनको प्रभावले शुक्रबार बिहान देशभर साधारणदेखि पूर्णतया बदली रही मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रही कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार दिउँसो
महाशाखाका अनुसार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा, लुम्बिनी प्रदेशको थोरै स्थानमा साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शुक्रबार राति
शुक्रबार राति पनि देशभर साधारणदेखि पूर्णतया बदली रही कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा राति पनि भारी वर्षा तथा कोशी, मधेस र गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।