काठमाडौं । अमेरिकामा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या १० लाखभन्दा बढी भएको छ । कोरोनाभाइरसको विश्वव्यापी रूपमा तथ्यांक संकलन गरिरहेको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर संक्रमितमध्ये करिब एक तिहाई सङ्क्रमण अमेरिकामा देखिएको हो ।
त्यहाँ हालसम्म ५७ हजारभन्दा बढीको यो भाइरसका कारण मृत्यु भइसकेको छ । त्यो भनेको भियतनाम युद्धका बेला मृत्यु भएका अमेरिकीहरूको संख्याभन्दा पनि बढी हो ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म विश्वभर कुल ३० लाख ९८ हजारभन्दा बढी संक्रमण पाइएको छ । कोरोनाभाइरसका कारण हालसम्म विश्वभर २ लाख १६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूहरूले धेरैभन्दा धेरै परीक्षण गरेकाले यो संख्या देखिएको बताएका छन् ।
उनले विस्तारै संक्रमितको संख्या शून्यमा झर्ने बताए। ट्रम्पले गत फेब्रुअरीमा पनि अमेरिकामा कोभिड(१९ को संक्रमण शून्य हुने बताएका थिए ।
त्यसबेला अमेरिकामा कोरोनाभाइरसका १५ वटा मात्र संक्रमण भेटिएका थिए ।
अन्यत्र के हुँदैछ?
ब्रिटेनमा बुधवारबाट केयर होमहरूमा भर्ती भएका सबै मानिसहरू र त्यहाँका कर्मचारीहरूको कोरोनाभाइरस संक्रमण परीक्षण हुँदैछ । संक्रमणको कुनै पनि लक्षण नदेखिएकाहरूमा पनि यो परीक्षण हुनेछ । यसले लाखौँ मानिसहरूलाई परीक्षणको दायरमा ल्याउने ठानिएको छ ।
फ्रान्समा मे ११ बाट लकडाउन खुकुलो पारिनेछ । तर त्यहाँ सार्वजनिक यातायात र विद्यालयहरूमा मास्क लगाउन अनिवार्य गरिएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यहाँ पनि चिकित्सकहरूले प्रयोग गर्ने सुरक्षा सामाग्री तथा उपकरणहरूको अभाव रहेको स्वीकारेका छन् । रुसमा हालसम्म ९३ हजारभन्दा बढी मानिसहरूमा संक्रमण देखिएको छ भने हालसम्म ८ सय ६७ जनाको मृत्यु भइसकेको छ।
करिब पाँच साताको लकडाउनपछि न्युजिल्यान्डमा मानिसहरू घरबाट बाहिर निस्किएका छन्। त्यहाँ लकडाउन लगभग अन्त्य गरिएको छ।
भारतमा एकै दिन ६९ को मृत्यु
भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार नाघेको छ । मंगलबार मात्रै कोरोना संक्रमणबाट भारतमा ६९ जनाले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ८ पुगेको वर्ल्डओमिटरले जनाएको छ ।
भारतमा संक्रमितको संख्या ३१ हजार ३६० पुगेको छ। त्यहाँ मंगलबार मात्रै १९ सय ९ जना नयाँ संक्रमित थपिएका छन्।
अहिलेसम्म भारतमा सात हजार सात सय भन्दा धेरै उपचारपछि निको भएका छन् । अहिलेसम्म भारतमा सात हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।
भारतमा सबैभन्दा बढी महाराष्ट्रमा कोरोना संक्रमण फैलिएको छ । त्यसपछि राजधानी नयाँ दिल्ली कोरोना संक्रमणबाट प्रभावित छ ।
कोरोना संक्रमण नियन्त्रण गर्न भारतमा एक महिनादेखि लकडाउन छ । गत मार्च २५ देखि सुरु भएको लकडाउन मे ३ सम्म जारी रहने घोषणा सरकारले गरेको छ ।