काठमाडौं । नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार साँझ एमालेका मन्त्रीहरूले प्रधानमन्त्री दाहाललाई राजीनामा बुझाउँदै समर्थन फिर्ता लिएको जानकारी दिएका हुन् ।
एमालेको मंगलबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन आग्रह गरेको थियो।
प्रधानमन्त्रीले राजीनामा नदिएपछि बुधबार बेलुकी एमालेका ८ जानै मन्त्रीहरू बालुवाटार पुगेर राजीनामा बुझाएका हुन्।
राजीनामासँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
प्रचण्ड नेतृत्वको सरकारमा नेकपा एमालेबाट उपप्रधानसहित ८ जना मन्त्री बनेका थिए।
नेपाली कांग्रेस र नेकपा एमालेबीच वर्तमान सत्ता समीकरण भत्काएर नयाँ सरकार बनाउने सहमति भएको छ। उक्त सहमति भएसँगै प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न नेकपा एमालेले बुधबार साझसम्मको समयसीमा दिएको थियो।
तर, प्रधानमन्त्री राजीनामा दिन तयार नभएपछि एमाले मन्त्रीहरूले सामूहिक राजीनामा बुझाउने निचोडमा पुगेका थिए।