काठमाडौं । काठमाडौँमा जारी नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनमा आज (असार १९) देखि नयाँ नेतृत्व चयन प्रक्रिया शुरु हुँदैछ।
बुधबार बिहान ११ बजेदेखि सुरु हुने बन्द सत्रमा प्रतिवेदनहरूमाथिको निष्कर्ष पेश गरेपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गर्ने कार्यतालिका छ ।
एकीकृत समाजवादीको अध्यक्षमा निवर्तमान अध्यक्ष माधवकुमार नेपाललाई महासचिव घनश्याम भुसालले चुनौती दिने तयारी गरेका छन् । सम्मानित नेता झलनाथ खनालको समर्थनमा घनश्यामले अध्यक्षमा आकांक्षा देखाएका हुन् ।
एक हजार आठ सय ४९ प्रतिनिधि सहभागी महाधिवेशनले अध्यक्ष र पदाधिकारीसहित २९९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।
महाधिवेशनको बन्द सत्रमा प्रस्तुत राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा १२ समूह बनाएर छलफल गरिएको छ।
ती दस्तावेजमाथिको समूहगत छलफलको निष्कर्ष आज टोली नेताले प्रस्तुत गर्दैछन् । दस्तावेजहरू पारित भएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ।
महाधिवेशन भोलि (बिहीबार) समापन गर्ने कार्यतालिका छ।