काठमाडौँ । पाँच पत्रकार सङ्गठनले असार २२ गतेको नेपाल पत्रकार महासङ्घको निर्वाचन सुनिश्चित गर्न माग गरेका छन् ।
२०८१ असार १४ गते शुक्रबार नेपाल प्रेस युनियनले महासङ्घको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेपछि उनीहरूले यस्तो माग गरेका हुन् ।
निर्वाचन तालिकाअनुसार असार १४ गते नामावली सार्वजनिक गर्ने तथा असार १५ गते मनोनयन दर्ता गर्ने तालिका प्रभावित भएको भन्दै उनीहरूले निर्वाचन सुनिश्चित गर्न माग गरेका छन् ।
उनीहरूले निर्वाचन विरोध गतिविधिलाई नियन्त्रण गर्दै निर्वाचन सम्पन्न गर्नका लागि महासङ्घसित अनुरोध पनि गरेका छन् ।
प्रेसविज्ञप्तिमा प्रगतिशील पत्रकार सङ्घ नेपालका अध्यक्ष श्यामलाल शर्मा, क्रान्तिकारी प्रेस सङ्गठनका अध्यक्ष नारायण शर्मा, समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ र प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतको हस्ताक्षर रहेको छ ।
