काठमाडौं । माध्यमिक शिक्षा परीक्षा, एसईई २०८० मा नन ग्रेड (अनुत्तीर्ण) हुने विद्यार्थीको धेरै संख्या लुम्बिनी प्रदेशमा रहेको र नतिजामा चित्त नबुझे अनलाइनबाटै पुनर्योग (रिटोटलिङ) गर्न पाउने व्यवस्था भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले कार्यालयमा विद्यार्थीको चाप घटाउन अनलाइनबाटै पुनर्योग (रिटोटलिङ) गर्न पाउने व्यवस्था ल्याइएको जानकारी दिए ।
पुनर्योगका लागि नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिइसक्नुपर्ने शर्माले जानकारी दिए । त्यस्तै नतिजा नखुलेमा, अनुपस्थित देखाएमा वा प्रयोगात्मक नम्बर नदेखाएमा प्रवेशपत्र प्रतिलिपिसहित शिक्षा विकास तथा समन्वय इकाइ विभागमा सोझै निवेदन दिन सकिने व्यवस्था गरेको छ ।
त्यस्तै लुम्बिनी प्रदेशबाट ८० हजार ३२७ विद्यार्थी परीक्षामा सहभागी भएकोमा नतिजाअनुसार ४९ हजार २२४ विद्यार्थी अनुत्तीर्ण भएका छन् ।