काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले सहकारी प्रकरणबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समिति सहकारी ठगलाई बचाउन बनेको बताउनुभएको छ ।
२०८१ असार १० गते सोमबार काठमाडौँमा सहकारीपीडितको आन्दोलनलाई समर्थन गर्न पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले नागरिकले भविष्यका लागि दुःख गरेर जम्मा पारेको रकम राज्य सत्तामा बस्नेबाटै लुटिएको बताउनुभयो ।
उहाँले राज्य सत्तामा बस्नेहरूले ठुलो आन्दोलन नगरी सहकारीबाट लुटिएको रकम नदिने बताउनुभयो । उहाँले नेपाली जनताको पसिना राज्यसत्तामा बस्ने र राज्यसत्ताको आडमा लुटिएको बताउनुभयो ।
उहाँले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै सहकारी ठगलाई नै राज्यको जिम्मेवार ठाउँमा राखिएको भन्दै आपत्ति जनाउनुभयो ।
उहाँले भन्नुभयो– ‘एउटा नेपाली उखान छ, हातले दिएर खुट्टालाई दुःख भने जस्तो तपाईंहरूले खाइनखाइ भोलि बुढेसकाललाई चाहिएला, बिरामी हुँदा चाहिएला, छोराछोरी पढाउन चाहएिला भनेर सहकारीमा जम्मा गरेको रकम आज राज्यसत्तामा बस्नेहरूले नै लुेटका छन् । तपाईंहरूसँग आएर जति पनि मिठा कुरा गरे पनि आन्दोलनबेगर यिनीहरू डराउनेवाला छैनन् । यनीहरू पल्किसकेका छन् ।’
केसीले थप्नुभयो– ‘नेपाली जनताको पसिना राज्यसत्तामा बस्नेहरूले राज्यसत्ताको आडमा नेपाली जनताको पसिनामा पौडी खेल्न पाइँदैन, नेपाली जनताले एक एक हिसाब गर्दछन् भनेर सदनमा बन्दै आएको छु । अब त सहकारी ठगलाई नै राज्यको जिम्मेवार ठाउँमा राखिएको छ । जसले कारबाही गर्ने हो, त्यही ठाउँमा राखेपछि यी राजनीतिक पार्टीहरूले के गर्दछन् ? यो समिति सहकारी ठगलाई बचाउन बनेको समिति हो ।’
उहाँले अहिलेका राजनीतिक दलहरूले देश र जनताका लागि केही काम गर्न नसक्ने बताउनुभयो ।