रवि पौडेल ##
कर्नालीमाथि तुइन
हत्केलामा प्राण
विकास संसद् भवनमा
जीवनको बाजी राखी
विद्यार्थीहरू तुइन तर्छन्
समृद्धि पढ्छन्
जीवनी पुस्तक विद्यालयमा
लामो सास फेर्दै कर्नालीमाथि
थुरथुर खुट्टा कमाउँदै
खच्चड तुर्लुङ्ग झुन्डिएर
उत्तानो पर्दछन्
पुग्न पाउँदैनन् कर्नाली
तर समृद्धि
पुग्यो संसद् भवन
अनि मन्त्रिमण्डलसम्म
पुगेन विकास र समृद्धि
कर्नालीसम्म
विद्यालयमा छानो छ टिनका पाता
हावाहुरी फेरि पानी
उडाइदियो जीवनका कहानी
विकास र समृद्धि पुग्यो
संसद् भवनमा
मन्त्री र सांसदको मुखमुखमा
पुगेन विकास र समृद्धि
कर्नालीको स्कुलमा
मुगु, डोल्पा र रोल्पामा
पुगेन सडक पानी र स्वास्थ्य
तर जनक्रान्ति पुगेथ्यो रोल्पामा
विकास र समृद्धि पुगेन
मुगु, रोल्पा, डोल्पा र
कर्नालीमा !
सेती, कोशीका बाँध भत्किए
तर भत्किएनन्
विकास र समृद्धिका बाँधहरू
पाएनन् स्वास्थ्य रोजगार र
शिक्षा जनताले
पाए बजेट मन्त्री र सांसदले
पाए विकास
तिनका पत्नी र परिवारले
पाएनन् देशका आम नागरिकले
विकास रोल्पा, डोल्पा र कर्नालीमा
पुगेको छ
खच्चडमा कुदेर
ज्यान गुमाउँदै ऊ
कर्नाली नदीमा डुबेको छ
अनि कर्नाली नदीको पानीमा डुबेर
ज्यान गुमाउँदै
विकास र समृद्धिको
स्वाद लिएको छ
कति बगे विकासका मूल
तुइन चढ्दा
कैयन धामीहरू
विकासको मूलमा परेर बगिए
कञ्चनपुर र बरेलीका सीमास्तम्भ
समृद्धिको भेलले पुरिए
मारिए गोविन्द गौतम जस्ता योद्धा
सिमानामा विकासको भेलले
समृद्धिको अट्यास बोलीले
सरकार भनिरहेको छ
अदम्य विकास भएको
घरघरमा ग्यास पाइप भन्थे
घरघरबाट युवा पलायन भएको छ
खाडीमै अस्ताएको छ
हो विकास र समृद्धिको स्वाद युवाले
कतार, मलेसिया र दुबई गएर लिएको छ
बाकसमा शरीर पठाएर
सरकार, मन्त्री र सांसदलाई
रेमिट्यान्सको स्वाद चखाएको छ
बाकसको रेमिट्यान्सले
शाषक समृद्धिको स्वाद खाएको छ ।

