काठमाडौं । नेपाल सरकारको निमित्त मुख्यसचिवको जिम्मेवारी लिलादेवी गड्तौला (निरौला) ले सम्हालेकी छिन्।
मुख्यसचिव बैकुण्ठ अर्याल अर्याल निलम्बनमा परेसँगै प्रधानमन्त्री कार्यालयकै सचिवहरूमध्येबाट वरिष्ठताका आधारमा गड्तौलाले निमित्त मुख्य सचिवको जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता प्रेमप्रसाद आचार्यले जानकारी दिए ।
आइतबार दिउँसो विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै मुख्यसचिव बैकुण्ठ अर्याल स्वतः निलम्बनमा परेका थिए।
गड्तौला प्रधानमन्त्री कार्यालयका वरिष्ठतम् सचिव हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिषरिषद् कार्यालयमै कानुन सचिवको रूपमा कार्यरत उनी २०५२ सालमा शाखा अधिकृतको रूपमा निजामती सेवामा प्रवेश गरेकी थिइन् ।
२०६३ कात्तिक ३ गते उपसचिव र २०७० माघ ९ गते सहसचिव बनेकी थिइन्। २०७७ कात्तिक २७ गतेदेखि उनी सचिवको रूपमा कार्यरत छिन्।
अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाई खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित १२ जना विरुद्ध मुद्दा दर्ता गरेको छ ।
सार्वजनिक संस्थाको सम्पत्ति हानी, नोक्शानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता भएको हो।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै विशेष अदादलतका प्रवक्ता धनबहादुर कार्कीले तत्कालीन आन्तरिक राजश्व विभागका महानिर्देशक रही हाल अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, आन्तरिक राजश्व विभागका तत्कालीन उपमहानिर्देशक हाल भन्सार विभागका उपमहानिर्देशक टंकप्रसाद पाण्डे, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, आन्तरिक राजश्व कार्यालय लािजम्पाटमा तत्कालीन निर्देशक गणेशविक्रम शाही, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, रविन्द्रप्रसाद पौडेल, लेखा अधिकृत विष्णुप्रसाद गौतम, सुरक्षण मुद्रण केन्द्रका शाखा अधिकृत हरिवल्लभ घिमिरे, सुरक्षण मुद्रण केन्द्र सिंहदरबारकै तत्कालीन तत्कालीन खरिद परामर्श दाता शक्तिप्रसाद श्रेष्ठ, प्रिन्ट सेल्स प्रा.लिका निर्देशक केशव शर्मा र यो कम्पनीलाई विपक्षी बनाएर १२ जना बिरुद्ध मुद्दा दर्ता भएको जानकारी दिए । जसमा बिगो ३८ करोड ६७ लाख १७ हजार ६४० कायम गरिएको बताए ।
उनले मुख्यसचिव लगायतका केही व्यक्तिहरूलाई पूरै बिगो असुल उपरसहितको माग दाबी सहित मुद्दा दर्ता भएको बताए ।