बागलुङबजार । प्रगतिशील पत्रकार सङ्घको बागलुङ जिल्ला समितिले प्रेसविज्ञप्ति बुझाउँदै नेपाल पत्रकार महासङ्घको बागलुङ जिल्ला शाखामा ताल्चा लगाएको छ ।
महासङ्घको सदस्यता शुद्धीकरणको नाममा दलका नेता, उद्योगी–व्यवसायी, शिक्षकलगायतका गैरपत्रकारलाई सदस्य बनााएको भन्दै प्रगतिशील बागलुङले ताल्चा लगाएको हो ।
प्रगतिशील बागलुङका का।वा। अध्यक्ष ज्योति थापाको हस्ताक्षरमा २०८१ असार ९ गते आइतबार जारी प्रेसविज्ञप्ति महासङ्घ बागलुङका सचिव विजय रानालाई बुझाउँदै तालाबन्दी गरिएको थियो ।
सो अवसरमा प्रगतिशीलका केन्द्रीय सदस्य प्रकाश छन्त्याल र केन्द्रीय सल्लाहकार किरण आचार्यको उपस्थिति रहेको थियो ।
“सदस्यताको विषयमा भइरहेको राजनीतिकरणले महासङ्घ बदनाम भइरहेको छ । यसलाई थप ध्वस्त हुनबाट बचाउने दायित्व तपाईंहाम्रो हो” विज्ञप्तिमा भनिएको छ– “त्यसैले महासङ्घलाई विधानसम्मत चलाइयोस् । शुद्धीकरणका लागि बनाएको मापदण्डको प्रभावकारी कार्यान्वयन गरियोस् । राजनीतिक पहुँचको आधारमा खल्तीबाट सदस्यता वितरण गर्ने कार्य बन्द गर्न जोडदार माग गर्दछौँ ।”
विज्ञप्तिमा गैरपत्रकारलाई संलग्न बनाएर महासङ्घको गरिने निर्वाचन तत्कालै रोक्न अनुरोध गरिएको छ ।
“यही अवस्थामा महासङ्घको निर्वाचनलाई अघि बढाउन खोजिए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारसमेत नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति र प्रदेश समिति हुने व्यहोरा अवगत गराउन चाहान्छौँ ।”